सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौं, २ भदौ
    सिराहा : गोलबजार–७ चोहर्वास्थित पूर्व–पश्चिम राजमार्गमा बिआर ०६ पिए ६७७९ नम्बरको भारतीय बलेरो गाडीले स.६ प ५२७ नम्बरको मोटरसाइकललाई बिहिबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार गोलबजार–४ बस्ने ७० वर्षीय चौधरी महतोको उपचारको लागि रामप्रसाद उमाप्रसाद अस्पताल लहानतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकल चालक उनका छोरा १९ वर्षीय कम्लेस कुमार महतो सामान्य घाइते भएका छन् । ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको छ ।
    बारा : गढिमाई नगरपालिका–१० नितन चोकमा ना.३ ख ७२७७ नम्बरको टिपरले बुधबार साईकललाई ठक्कर दिंदा साईकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीया फुलकुमारी पासवानको घटनास्थलमै मृत्यु भएको छ । साइकल चालक सकुशल रहेका छन् । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    रुपन्देही : तिलोतमा नगरपालिका–२१ बेहुलीस्थित भित्री सडकमा ना.४ ख ७९८५ नम्बरको बसले लु.१४ प ६०४६ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–२० बस्ने २० वर्षीय प्रेम चौधरीको भरतपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुबै सबारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    रौतहट : गरुढा नगरपालिका–१३ गौरस्थित सडकमा बा.२९ प ७९४४ नम्बरको मोटरसाइकलले बिग्रीएर रोकेको बा.१ क ३७१७ नम्बरको मिनीट्रक मर्मत गरिरहेका मिस्त्रीहरु गरुढा नगरपालिका–२ बस्ने ३० वर्षीय राम कृपाल राम र ३२ वर्षीय विमल चौधरीलाई बुधबार ठक्कर दिई घाईते बनाएकोमा नेशनल मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा विमलको मृत्यु भएको छ । मोटरसाइकल र मोटरसाइकल पछाडी सवार बरियारपुर–६ बस्ने ३२ वर्षीय सुरेश सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका मोटरसाइकल चालकको खोजी कार्य भइरहेको छ ।
    सिराहा : धनगढीमाई नगरपालिका–७ गागनपुलस्थित पूर्व–पश्चिम लोकमार्गमा स.२ प ५१२४ नम्बर मोटरसाइकले बोलबमका ३ जना पैदलयात्रीलाई ठक्कर दिंदा भएको दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्री लाहान नगरपालिका–१३ बस्ने २२ वर्षीय सन्दिप कुमार महतोको उपचारको लागि लाहानतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसमेत ५ जनाको ग्रिन ऐपलमा उपचार भइरहेको छ । मोटरसाइकल र चालकलाई प्रहरीले प्रहरीले नियन्त्रणमा लिएको छ ।
    सप्तरी : कञ्चनरुप नगरपालिका–११ स्थित सडकमा ना.५ ख ३५३० नम्बरको बसले बुधबार ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करीव ५० वर्षीय पुरुषको उपचारको लागि न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।