सवारी दुर्घटनामा मृत्यु
काठमाडौं, ५ भाद्र
कैलाली : पहलमानपुर–१ पहलमानपुर बजार स्थित महेन्द्र राजमार्गमा ना.५ ख १०९४ नम्बरको बसले पैदलयात्री घिरौका बस्ने ६० वर्षीया गंगादेवी जोशीलाई शनिबार ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ ।
बारा : गढिमाई नगरपालिका–१ स्थित सडकमा ना.४ ख १०९८ नम्बरको ट्रकले ना.३८ प ८२६९ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिंदा मोटरसाइकल चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–४ हुप्राचौर बस्ने ३० वर्षीय शम्साद शेषको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने ४६ वर्षीय नवसाद अन्सारी समेत गम्भीर घाइते भएकोले पुरानो मेडीकल कलेज भरतपुरमा लगिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी : कावासोती नगरपालिका–८ खरकट्टा जंगलस्थित महेन्द्र राजमार्गमा लु.२५ प ८४४५ नम्बरको र ना.३६ प ३६९० नम्बरको मोटरसाइकल एकआपसमा शनिबार ठक्कर खाई दुर्घटना हुँदा लु २५ प ८४४५ नम्बरको मोटरसाइकल चालक बर्दघाट–९ बस्ने ३० वर्षीय विश्वराज सुवेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका उनको गण्डकी अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अर्का मोटरसाइकल चालक देवचुली बस्ने ३५ वर्षीय रविलाल अधिकारी, ३८ वर्षीय महेश्वर रानाभाट र १३ वर्षीय बिक्रम सुबेदी समेत घाइते भएकोले उपचारको लागि सोही अस्पतालमा लगिएको छ ।
पर्सा : बीरगंज उपमहानगरपालिका–२४ स्थित विश्वकर्मा सिमेन्ट फ्याक्ट्रीको कम्पाउन्ड भित्र बाटोको छेउमा सुतिरहेका सोही ठाउँ बस्ने ४० वर्षीय मजदुर शिव शंकर साहलाई आईतबार ना.१ क २३७५ नम्बरको लोडरले किच्दा घटनास्थलमै मृत्यु भएको छ । फरार लोडर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

