नयाँ प्रविधियुक्त संचार तालिम समापन

काठमाडौँ, २९ भदौ
    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, संचार निर्देशनालयमा संचालित प्रथम समूहको नयाँ प्रविधियुक्त संचार तालिम सम्पन्न भएको छ ।
    कार्यक्रमका संचार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा.राजिव सुव्वाले बुधबार आयोजित एक समारोहबीच प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयो ।
    उक्त अवसरमा उहाँले तालिमबाट सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञान सिपलाई कार्य क्षेत्रमा इमान्दरीपुर्वक लगनशिल  भई लागू गर्नुपर्ने बताउनुभयो ।
    समारोहमा  प्रहरी वरिष्ठ उपरीक्षक बिधाराज श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभएको थियो भने प्रहरी नायव उपरीक्षक दामोदर कडेलले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
    भाद्र १२ गतेदेखि संचालित १६ कायदिन रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक ३, प्रहरी सहायक निरीक्षक १७ जना गरी कुल २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
    मुलुकको विभिन्न स्थानहरुमा रहेका प्रहरी इकाईहरुमा संचार प्रमुखका रुपमा रहने जुनियर प्रहरी अधिकृतहरुलाई आधुनिक संचार प्रविधि सम्बन्धी ज्ञान दिलाउन, संचार उपकरणहरुमा आइपर्ने स–साना खरावीहरुलाई पहिचान गरी यथास्थानमानै मर्मत संभार गरी संचार प्रकृयामा निरन्तरता दिने र  नेतृत्व बहन गर्न सक्षम तुल्याउने उदेश्यले उक्त तालिम संचालन गरिएको हो ।