सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौं, ३० भदौ
    सिराहा : धनगढी नगरपालिका–११ स्थित पूर्व–पश्चिम लोकमार्गमा ना.३ ख ५७५३ नम्बरको बिग्रिएर रोकी राखेको ट्रकमा स.६ प ७३६८ नम्बरको मोटरसाइकल बिहिबार ट्रकको पछाडीपट्टी ठोकिंदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी, सारस्वर–२ बस्ने २५ वर्षीय ब्रम्हदेव साहको उपचारको लागि लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    रुपन्देही : बुटवल उपमहानगरपालिका–८ ट्राफिक चोकस्थित सिद्धार्थ राजमार्गमा लु.१ ख ८३४१ नम्बरको ट्रकले लु.१२ प ५२६७ नम्बरको स्कुटीलाई बुधबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटी चालक बुटवल–१३ देवीनगर बस्ने २१ वर्षीया सुमा सुब्बाको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक, ट्रक चालक र स्कुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।
    धादिङ्ग : गजुरी–२ मलेखुस्थित पृथ्वी लोकमार्गमा ना.४ ख ९९५५ नम्बरको ट्रक र ना.१ ज ५८२० नम्बरको माइक्रोबस बिहिबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा माइक्रोबसमा सवार चालकसहित ११ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि मलेखु पठाइएको र अवस्था सामान्य रहेको छ । दुवै सवारी र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।