सवारी दुर्घटनामा मृत्यु
काठमाडौँ, १० असोज
दाङ : धनौरी–१ स्थित कोरावाङबाट तुल्सीपुरतर्फ आउँदै गरेको रा.१ ज ३८६ नम्बरको जिपले सोमबार ठक्कर दिंदा गम्भीर घाइते भएका पवननगर–५ कुमलगढी बस्ने ७ बर्षीय दिपक चौधरीको राप्ती अंचल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ्ग : बेलबारी नगरपालिका–३ स्थित बेतना सिमसार क्षेत्रमा ना.४ ख ७५६१ नम्बरको बस र पिआर ११ यु ३४२१ नम्बरको कार सोमबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा कार चालक भारत घर भएका ३५ बर्षीय बिनय कुमार जयसवालको घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर : मनहरी–७ ज्यामिरे स्थित ना.५ ख १८१६ नम्वरको बसले सोमबार रिक्सालाई ठक्कर दिँदा रिक्सा चालक सोही ठाउँ बस्ने ५५ बर्षीय काशिराम के.सी. उछिटिएर ना.५ ख ७८०३ नम्वरको ट्रकको चक्कामा पर्दा घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा रिक्सामा सवार ५० बर्षीय कृष्णबहादुर ढुंगाना गम्भीर घाइते भएकोले उपचारको लागि भरतपुर पठाइएको छ । बस र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन : भरतपुर–१० स्थित राजमार्गमा ना.३ ख ९४३९ नम्वरको बसले ना.१ ह ३८४४ नम्वरको रिक्सा, ना.४१ प ६३९७, ना.२४ प ९२९९ नम्वरको मोटरसाइकल र रोकी राखेको ना.३५ प ७६१९ नम्वरको सवारी साधनलाई ठक्कर दिँदा ना.४१ प ६३९७ नम्वरको मोटरसाइकलमा सवार २ जना घाइते भएकोले उपचारको लागि मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा चालक ३३ बर्षीय भरतबहादुर महराको मृत्यु भएको छ ।

