अपहरण तथा शरिर बन्धक उद्योग मुद्धामा फरार व्यक्ति पक्राउ

काठमाडौं, ७ चैत
    अपहरण गर्ने तथा शरिर बन्धक लिने उद्योग मुद्धामा रुपन्देही जिल्ला अदालतको २०६९ भदौ १३ गतेको फैसलाले २ बर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना सजाय भई फरार रहेका काठमाडौं पुरानो नैकाप बस्ने ३४ वर्षीय  भाष्कर पनेरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले सोमबार पुरानो नैकापबाट पक्राउ गरेको छ ।
    २०६७ सालमा रुपन्देही, टिकुलीगढ गाविस–१ खैरिया बस्ने कृष्णप्रसाद भुषालले भारतीय नम्बरको सिम प्रयोग गरी चण्डीप्रसाद पाण्डेयलाई फोन गरी धाकधम्की दिई फिरौती बापतको रकम २ लाख माग गरेको र उक्त रकम जम्मा गर्न भुषालले सिद्धार्थ डेभलपमेण्ट बैंक भैरहवामा आफ्नो फोटो टाँसी झुठो व्यहोराको कागजात पेश गरी विवेक थापाको नाममा खोलेको खातामा पीडितहरुले पटक पटक गरी २ लाख २३ हजार रुपैयाँ जम्मा गरिदिएको तथा उक्त खाता खोल्न पेश गरिएको विवेक थापाको नामको नागरिकता पनेरुले भुषाललाई रुपन्देहीमा उपलब्ध गराइदिएको खुल्न आएको छ ।
    साथै घटनामा संलग्न भुषाललाई २०६८ बैशाख २१ गते प्रहरीले पक्राउ गरी मुद्धा दर्ता भएकोमा रुपन्देही जिल्ला अदालतबाट २ बर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना सँजाय ठहर भई सजाँय भुक्तान गरिसकेको तर प्रतिवादी  पनेरु फरार रहेका थिए ।
    फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।