घर तथा पहिरोमा पुरिएर मृत्यु तथा घाइते

काठमाडौं, २८ साउन
    मकवानपुर : भिमफेदी गाउँपालिका–८ ईपापाठाटोल बस्ने कृष्ण दानीको घर बर्षाको कारण शनिबार पहिरोले पुरिँदा उनकी श्रीमती ५२ वर्षीया मिठ्ठु दानीको मृत्यु भएको छ । पहिरोमा परेकी सोही ठाउँ बस्ने १९ वर्षीया सरु खड्कालाई उद्धार गरी प्राथमिक उपचार पश्चात घरतर्फ पठाइएको छ । पहिरोले घर पुर्णरुपमा क्षति भएको छ ।
    बाँके : राप्ती सोनारी गाउँपालिका–४ लालपुर बस्ने कमिलाल थारुको घर बर्षाको कारण शनिबार भत्किँदा  च्यापिएरका उनका छोरीहरु १२ वर्षीया अन्जु थारु, ७ वर्षीया सुस्मिता थारु र ९ वर्षीया सरिता थारुको शनिबार मृत्यु भएको छ ।
    बारा : सिम्रौनगढ नगरपालिका–८ कचोर्वा बस्ने बिलास यादवको कच्ची घर अबिरल बर्षातको कारण शनिबार भत्कँदा उनकी श्रीमती ४५ वर्षीया गहनी पासवानको घरले थिचेर मृत्यु भएको छ । घर भत्केर करीव १ लाख ६५ हजार मुल्य बराबरको क्षति भएको छ ।
    सर्लाही : धनकौल गाउँपालिका–१ मानपुर बस्ने ७५ वर्षीय किसोरी रायको कच्ची घर अबिरल बर्षाको कारण शनिबार घर लड्दा घरले पुरियर उनको मृत्यु भएको छ ।
    सिन्धुली : कमलामाई नगरपालिका–६ गैरीबजारस्थित गएराति परेको बर्षाको कारण पहिरो खस्न गई सोही ठाउँ बस्ने ३५ वर्षीय उदयबहादुर खडकाको घर पुरिन जाँदा खड्काकी श्रीमती २७ वर्षीया दुर्गाकुमारी खडका, छोरी १५ वर्षीया शोभाकुमारी खडका, छोराहरु १० वर्षीय अनिस खडका र ८ वर्षीय मनिष खडकाको पहिरोले पुरिएर मृत्यु भएको छ । निज उदयबहादुर भाग्न सफल भएका छन् ।
    पाँचथर : फालेलुङ गाउँपालिका–१ स्थित चुप्पादिनमा शुक्रबार पहिरो जाँदा सोही ठाउँ बस्ने ८३ वर्षीय त्रिलोचन लोहारको पुरिएर मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा पहिरोमा पुरिएका लोहारको प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गर्नेक्रममा शव फेला पारेको हो । साथै सोही ठाउँ बस्ने कमलप्रसाद जबेगु लगायत ३ जनाको घर पहिरोले बगाएर क्षति भएको छ ।
    बर्दिया : बाँसगढी नगरपालिका–१ चेपाङधोजे खोला नजिकै बस्ने तुलबहादुर बिकको कच्ची घर अबिरल बर्षाको कारण शनिबार भत्कन जाँदा सोही घरमा डेरा गरी बस्ने ६० वर्षीया अनन्तकली बिक, उनकोे छोरा ३६ वर्षीय सुके नेपाली, छोरी १८ वर्षीया भुमिसरा बिक घाइते भएकोले उपचारको लागि नेपालगंजतर्फ पठाइएको र अबस्था सामान्य रहेको छ ।
    घटनास्थलमा उद्धार कार्य गर्नुको साथै स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।