डुबानमा परी बेपत्ता तथा मृत्यु

काठमाडौं, २८ साउन
    बारा : पचरौता गाउँपालिका–९ बलढुसुवास्थित जानकी मन्दिरको बृद्ध आश्रमको कच्ची घरमा जमुनी खोलाको अविरल बर्षाको कारण शनिबार बाढी पस्दा आश्रममा बसेका ४ जनामध्ये ३ जनालाई उद्धार गरिएको छ भने  आदर्श कोतवाल–९ बस्ने ७० वर्षीय ब्रम्हदेब महतो डुबेर बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको छ ।
    झापा : झापा गाँउपालिका–२ बालुबाटार बस्ने ३५ वर्षीया धनमाया घोरासइनी र उनकी छोरी १६ वर्षीया  फला घोरासइनीलाई सानिमाई खोलामा आएको बाढीले शनिबार बगाई लगेकोमा सोही गाउँपालिका–१ सितुमारीस्थित खोलाको छेउको खेतमा धनमायाको शव फेला परेको छ ।
    यसैगरी झापाकै झापा गाउँपालिका–३ सिमलबारी बस्ने ४० वर्षीया कलमा दर्लामी र उनकी छोरी ८ वर्षीया  सुसी दर्लामी सानोमाई खोलाको पानी घरमा छिरेपछि भाग्ने क्रममा बगाई बेपत्ता भएको भन्ने खबर पाएपछि खटी गएको प्रहरीले खोजी गर्नेक्रममा कमलालाई मृत अबस्थामा फेला पारेको छ । बेपत्ता सुसीको खोजी भइरहेको छ ।
    सुनसरी : ईटहरी उपमहानगरपालिका–४ गौरीगाउँ डेरा गरी बस्ने भोजपुरकी ३२ वर्षीया माया राईका छोरा ३ वर्षीय रुपेश राई र उनकै छोरी ८ वर्षीया रुप्सनी राई समेत ६ जनाको गएराति अविरल वर्षाको कारण आएको बाढीमा परी मृत्यु भएको छ ।
    नवलपरासी : मध्यविन्दु नगरपालिका–१० अरुणखोलामा व्यापार गर्ने भारत ठुटीबारी बस्ने ५५ वर्षीय वल्ली चौहान स्थानीय अरुणखोला नदीले बगाई शुक्रबार बेपत्ता भएका छन् । उनको खोजी भइरहेको छ ।
    रोल्पा : दुईखोली गाउँपालिका–१ स्थित बगाउने खोलाले बगाई ल्याएको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय चन्द्रबहादुर रोकाको शव शुक्रबार फेला परेका छ ।
    खोटाङ : केपीलासगढी गाउँपालिका–४ बस्ने मन्जुल राईको छोरा ७ वर्षीय रोबिन राई घरबाट हराएकोमा केपीलासगढी–५ स्थित तापखोलाले बगाई ल्याएको अवस्थामा शुक्रबार मृत फेला परेका छन् ।
    सर्लाही : बरहथवा नगरपालिका–१० हात्तिसार बस्ने असर्फि साहको छोरा १५ वर्षीय राकेश साह स्थानीय सोती खोलामा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको छ ।
    मोरङ : मिक्लाजुङ गाउँपालिका–२ रातमाटे टोल बस्ने ३२ वर्षीय गंगाराम खतिवडाको सोही ठाउँस्थित बक्राहा नुनसरी खोला तर्ने क्रममा खोलाले बगाई मृत्यु भएको अवस्थामा शुक्रबार शव फेला परेको छ ।
     यसैगरी मोरङकै केराबारी–९ कुसुमे बस्ने ५६ वर्षीय मिनबहादुर थापाको खोलाले बगाएर शुक्रबार मृत्यु भएको छ । बेलबारी बजारबाट घर फर्कने क्रममा बेलबारी नगरपालिका–१ स्थित लोहन्द्रा खोलाले बगाएर बेपत्ता भएका उनको खोजी गर्नेक्रममा बेलबारी–२ स्थित खोलाको किनारमा शव फेला परेको हो ।
    बर्दिया : बारबर्दिया नगरपालिका–१० गन्धर्ब टोल बस्ने २९ वर्षीय राजेन्द्र थारु बबई नदीमा नदिले बगाएको दाउरा निकाल्ने क्रममा शनिबार नदीले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई खोजी कार्य भइरहेको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।