दाउराको मुडा र ढुंगाले लागेर मृत्यु

काठमाडौं, २८ कात्तिक
    खोटाङ्ग : रुपाकोट मझुवटगढी नगरपालिका–९ निर्मलीडाँडा बस्ने नरबहादुर राईको छोरा १४ वर्षीय दिपक राईको दाउराको मुडाले लागेर मृत्यु भएको छ । सोही ठाउँस्थित जंगलमा सोमबार दाउरा खोज्न गएको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय डिगेम्पा राईले माथिबाट मुडा लडाउँदा ढुंगामा ठोक्किई चोट लाग्दा गम्भीर घाइते भएका दिपकको जिल्ला अस्पताल दिक्तेल खोटाङ लगेकोमा उपचार हुन नसकी रिफर गरेपछि थप उपचारको लागि काठमाडौंतर्फ लैजाँदै गर्दा मंगलबार बाटोमै मृत्यु भएको हो ।
    गुल्मी : रेसुङगा नगरपालिका–४ स्थित बाख्रेछेँडाबाट भादगाउँतर्फ जाने बाटो लु.१ क १९३० नम्बरको डोजरले खन्ने क्रममा अचानक ढुङ्गा पल्टिन गई चोट लाग्दा सोही नगरपालिका–३ बस्ने ४० वर्षीय रामबहादुर दर्लामीको मंगलबार घटनास्थलमै मृत्यु भएको छ । डोजर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।