सवारी दुर्घटनामा मृत्यु तथा घाइते

अर्घाखाँची/काभ्रे/मोरङ, २१ मंसिर
    अर्घाखाँची : सितगंगा नगरपालिका–२ सितापुरस्थित सडकमा बुटवलबाट सन्धिखर्कतर्फ जाँदै गरेको लु.१ ख ८३३९ नम्बरको बसको ठक्करबाट सोही नगरपालिका–२ झिर्राठुम बस्ने ६० वर्षीय हुतबहादुर क्षेत्रीको बुधबार मृत्यु भएको छ । सोही बसमा यात्रा गरी आएका क्षेत्री बसबाट झरेर बाटो क्रस गर्ने क्रममा सोही बसले ठक्कर दिँदा गम्भीर घाइते भएकोमा प्राथमिक उपचार केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    काभ्रे : पनौती नगरपालिका–१० नेपानेस्थित सडकमा बा.९ च ४३३१ नम्बरको जिप बुधबार दुर्घटना हुँदा सोही नगरपालिका–११ बाल्थली बस्ने ४४ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा तामाङ र जिप चालक सहित १२ जना घाइते भएपछि उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा अस्पताल पुग्नासाथ तामाङको मृत्यु भएको थियो भने अन्यको उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
    मोरङ : धनपालथान गाउँपालिका–६ कदमाहास्थित बिराटनगर–रंगेली सडक खण्डमा लोहन्द्रा खोलाबाट मलामी गई रंगेलीतर्फ गइरहेको को.१ च ८८४९ नम्बरको टाटा पिक अप जिप बुधबार बिजुलीको पोलमा ठोक्किन गई दुर्घटना हुँदा सोही ठाउँ बस्ने ६३ वर्षीय छेदीक पासवान समेत ११ जना घाइते भएका छन्.। उनीहरुलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर र अन्यको सामान्य रहेको छ । चालक फरार रहेकोले खोजी कार्य भइरहेको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।