अवैध लागूऔषध सहित पक्राउ
२०७८-११-२६
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जुम्ला चन्दननाथ नगरपालिका-५ बस्ने ३२ वर्षीय बिष्णु रावत र तातोपानी गाउँपालिका-३ बस्ने २२ वर्षीय भरत रावल रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थसहति फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ स्थितबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय ८८ ट्याबलेट र नाईट्राभेट ५ सय ८५ ट्याबलेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका-१५ बस्ने २१ वर्षीय जलजला स्याङ्बो र बकैया गाउँपालिका-७ घर भई हेटौंडा उपमहानगरपालिका-१५ शिखरपानी बस्ने १९ वर्षीय आशिष भोम्जन रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले ज.८ प ५६५ नम्बरको मोटरसाइकल दुर्घटना भई लडिरहेको अवस्थामा फेला पारी तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको थियो । उक्त मोटरसाइकलका चालक जलजला मोटरसाइकल छोडी फरार भएपछि खोजी गर्ने क्रममा ना.३ प ६९६१ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा फेला पारी जलजला र ना.३ प ६९६१ नम्बरको मोटरसाइकल चालक आशिष समेतलाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१५ मिलन चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ४ सय ट्याव्लेट र स्पास्पेन ३ हजार ४ सय ट्याव्लेट सहित सोही ठाउँ बस्ने १९ वर्षीय अमन गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट श्याम चोकबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।