कानको मुन्द्रा चोरी गरेको अभियोगमा पक्राउ
२०७८-१२-०८
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-१ टुडिखेलस्थित राष्ट्रिय माविको गेट अगाडिको सोही विद्यालयमा अध्ययनरत २ जना बालिकाले कानमा लगाएको सुनका मुन्द्रा चोरी गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१० रामबजार बस्ने स्याङजा घर भएकी २५ वर्षीया अम्बिका पुलामी मगर, सोही महानगरपालिका-१७ राष्ट्र बैंक चोक बस्ने पञ्चासे सुन चाँदी पसलका संचालक ६४ वर्षीय थमन सिंह विश्वकर्मा र सोही ठाउँ बस्ने नितिशा ज्वेलर्स सुनचाँदी पसलका २७ वर्षीय नितेश विश्वकर्मा रहेका छन् ।
ती बालिकाहरुको कानको मुन्द्रा चोरी लगेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले सोही महानगरपालिका-१५ घले चोक नयाँ गाउ मार्ग सडक खण्डबाट उनीहरुलाई ७.६ लाल रहेको सुन जस्तो देखिने पहेँलो धातुले बनेको स-साना मुन्द्राका टुक्राहरू सहित फेला पारी पक्राउ गरेको हो । अनुसन्धानको क्रममा अम्बिकाले २ जना बालिकाले कानमा लगाएको मुन्द्रा चोरी गरी थमन सिंहलाई बिक्री गरेको र पुन: थमन सिंहले नितेशलाई बिक्री गरेको खुल्न आएको छ ।
उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।