अवैध लागुऔषध सहित पक्राउ
२०७८-१२-२३
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा महागढीमाई नगरपालिका-१ बस्ने २३ वर्षीय साहिद रजा र सुनसरी गडी गाउँपालिका-३ बस्ने २३ वर्षीय प्रमोद कुमार मेहेता रहेका छन् । नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार साहिदलाई नियन्त्रित लागुऔषध नाईट्राभेट ६ सय ट्याब्लेट र काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २३१४ नम्बरको बसमा सवार प्रमोदलाई डाईजेपाम २ सय एम्पुल, लुपिजेसिक २ सय एम्पुल र नाईट्राभेट १ हजार ८ सय ५ ट्याब्लेट सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरबाट करिब ८ ग्राम ६ सय ७० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, करिब ७ ग्राम १ सय ४० मिलिग्राम सेतो हेरोईन जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद १ लाख ५६ हजार १ सय २० रूपैयाँ र १ थान एटिएम कार्ड सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-१३ बस्ने २५ वर्षीय बर्ण बहादुर बोहरा र सोही नगरपालिका-१२ बस्ने २८ वर्षीय भिमा तामाङ रहेका छन् । बर्ण बहादुरको कोठामा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।