अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०७८-०६-१८
- A
- A-
- A+
काठमाडौं, २०७८ असोज १८ गते
धादिङ, धुनिबेशी नगरपालिका-९ खत्रीपौवास्थित सडकबाट करिब १ केजी ९ सय ६० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका-७ पाखुरे बस्ने ३७ वर्षीय चन्द्र बहादुर स्याङ्ताङ र सोही ठाउँ बस्ने ३० वर्षीय राम स्याङ्ताङ रहेका छन् । मकवानपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ५५७० नम्बरको टाटा सुमोलाई अस्थायी प्रहरी पोष्ट खत्रिपौवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरुलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि सुमो चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसस्थित सडकबाट करिब ३ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गोरखा, गोरखा नगरपालिका-४ नारेश्वर बस्ने १९ वर्षीय शितल मालभुललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ६२६६ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा हाईसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।