प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित

२०७९-०१-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकार मन्त्रीपरिषद्को २०७९ बैशाख १८ गतेको निर्णयअनुसार बैशाख १९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ ।

नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा सोमबार आयोजित बिशेष समारोहबीच गृहसचिव टेक नारायण पाण्डेले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई दर्ज्यानी चिन्हबाट सुशोभित गर्नुभएको हो ।

  सुशोभन समारोहमा गृहसचिव पाण्डेले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक सिंहलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै राज्य, सरकार, आमनागरिक र सिंगो समाजले राखेका अपेक्षा पूरा गराउन प्रहरी संगठनलाई दृढतापूर्वक अगाडि बढाउने पहल नयाँ नेतृत्वबाट हुने विश्चास व्यक्त गर्नुभयो । विगतमा भोगेका भन्दा नयाँ ढाँचा  र आधुनिक प्रकृतिका अपराधहरु विकसित हुँदै गएको अवस्थामा तिनको नियन्त्रण र चुनौती सामना गर्न सक्षम प्रहरी संगठन निर्माण गर्नुका साथै स्वस्थ्य सामाजिक संस्कार सभ्यताको विकासका लागि प्रहरी संगठनले आफ्नो भूमिकालाई स्थापित गर्नुपर्ने दायित्व रहेको उहाँले उल्लेख गर्नुभयो ।

गृहसचिव पाण्डेले हालै प्रहरी संगठनकोतर्फबाट प्रस्तुत स्थानीय तह निर्वाचन र शान्ति सुरक्षाको खाका समावेश भएको कार्ययोजना कार्यान्वयनका लागि गृहमन्त्रालयले अभ्यास, प्रयास र निरन्तरता दिने बताउनुभयो । प्रहरी संगठनलाई अपराध पत्ता लगाउने सुयोग्य साधन बनाउने र शान्ति सुरक्षाको अभिभारा पूरा गर्न प्रहरी संगठन सफल हुने सुभेक्षा उहाँले व्यक्त गर्नुभयो । सांगठनिक पुनसंरचनाको काम, जनशक्तिको क्षमता, संगठनलाई स्रोत साधन युक्त र संगठनमा क्षमतावान र प्रतिस्पर्धी जनशक्तिलाई भित्राउन टिकाउन र सक्षम नेतृत्व विकास गर्नुपर्ने चुनौतीलाई पूरा गर्न नेपाल सरकारले प्रहरी संगठनलाई सदैव सहयोग र सहकार्य गर्ने उहाँले बताउनुभयो । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृह मन्त्रीज्यू तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार र गृहमन्त्रालयको मार्ग निर्देशन प्रहरी संगठनका लागि मार्ग प्रशस्त गर्ने आधार भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, “मानव अधिकारको संरक्षण र संवर्द्धन गर्दै विधिको शासन स्थापना गरी आर्थिक समृद्धि हाँसिल गर्ने नेपाल सरकारको प्रमुख लक्ष्यलाई सफल पार्न नेपाल प्रहरी कटिवद्ध र कृतसंकल्पित रहेको छ ।”

सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवं पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने र अकर्मण्यता पूर्णत: निर्मूल गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता कामय राख्ने, आपराधिक तत्वहरुसँगको साठगाँठलाई निमिट्यान्न पार्नेमा केन्द्रीत राखी सहकर्मीहरुको सहकार्यमा संगठन सुधारका कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, “शहरकेन्द्रित अपराधहरुको स्वरुपमा भैरहेको तीव्र परिवर्तनले थपिएका चुनौतीहरुको सामना गर्न नेपाल प्रहरीलाई आधुनिकीकरण गर्दै लैजानुको विकल्प छैन । अपराध र सुरक्षा चुनौतीका आधारमा मापदण्ड बनाई Urban Policing र Rural Policing को अवधारणा अनुरुप ‘सुरक्षित शहर र सुरक्षित गाउँ’ निर्माण गरी आमनागरिकहरु माझ नेपाल प्रहरीको विश्वास अभिवृद्धि गर्नेतर्फ प्रहरी रणनीति केन्द्रीत रहनेछ ।” राष्ट्रिय प्राथमिकतामा रहेको स्थानीय तहको निर्वाचनलाई सुरक्षित एवं भयरहित तवरबाट प्रत्येक नागरिकहरुले आफ्नो बालिग मताधिकारको प्रयोग गर्न सक्ने गरी निर्वाचन सुरक्षा योजना अनुरुप प्रहरीको सम्पूर्ण स्रोतसाधनहरु प्रभावकारी रुपमा परिचालित हुने उहाँले बताउनुभयो । 

कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले सोमबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक सिंह नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गर्नुभयो । 

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुसाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

विसं २०२४ कात्तिक २० गते दैलेख जिल्लाको नारायण नगरपालिका वडा नम्बर ७ मा जन्मनु भएका प्रहरी महानिरीक्षक सिंह २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गर्नुभएको थियो । प्रहरी महानिरीक्षक सिंह २०६२ जेठ २२ गते प्रहरी नायव उपरीक्षक, २०६९ माघ ११ गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७७ वैशाख ७ गते प्रहरी नायब महानिरीक्षक र २०७८ चैत ८ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको  थियो ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक सिंहले कम्प्रिहेन्सिभ क्राईसिस मेनेजमेन्ट, अपराध अनुसन्धान, क्रिमिनल इन्टेलिजेन्स एनालाइसिस कोर्ष, एडभान्स ट्रेनिङ अन नेशनल सेक्युरिटी, ट्रेनिङ कोर्स अन बोर्डर ल ईनफोर्समेनट फर नेपाल, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न १३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको   छ । प्रहरी महानिरीक्षक सिंहले सुप्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको  साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ । 


सम्बन्धित समाचार
घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा पक्राउ
२०७९-०३-१८

सर्लाही, कबिलासी नगरपालिका-१० चमेलीमाई बस्ने २४ वर्षीय सुजित पंडितको घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ सलेम्पुर बस्ने २५ वर्षीय राकेश राय र सोही ठाउँ बस्ने २६ वर्षीय सुजित राय रहेका छन् । उनीहरुले रडले घुम्ती पसल फोडी पसलभित्र रहेको रेडबुल, डिउ, बदामजुश, फुर्टी लगायतको सामानहरू चोरी गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०३-१८

मोरङ,  आफ्नै श्रीमती ३१ वर्षीया बबिता मल्लिकको हत्या गरेको अभियोगमा रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण बबितालाई मट्टीतेल छर्की आगो लगाई फरार भएका तिलकालाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी पक्राउ गरेको हो । आगोले जलेर घाइते भएकी बबिताको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । आगलागीबाट घरमा रहेका लत्ताकपडा, भाडावर्तन अन्नपात समेत जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमालन नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१८

तनहुँ, बन्दिपुर गाउँपालिका-२ गैरागाँउ बस्ने ४५ वर्षीय राजन श्रेष्ठलाई करिब ७ केजी अवैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा राखेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले तलासी गर्दा कोठामा लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित बैजनाथ गाउँपालिका-३ सिमलघारी बस्ने ३० वर्षीय अमन रोकामगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । रुपैडिहाबाट नेपालगंजतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-३ गुरुजीबाट करिब ३ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने वस्तु सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  मकवानपुर  हेटौंडा उपमहानगरपालिका-१६ हटिया बस्ने २५ वर्षीय अनिल कुमार नगरकोटी र रौतहट चन्द्रपुर नगरपालिका-९ सिन्दुरे बस्ने ३५ वर्षीय नवराज बिक रहेका छन् । ना.४६ प १३३० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकिङ ग्लासको रबरभित्र र दुवै जनाको साथबाट उक्त वस्तु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट करिब २ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र २० ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राजेपाम र नाइट्राभेट सहित मोरङ रामथान गाउँपालिका-१ लखन्तरी बस्ने २३ वर्षीय रोशन कुमार भगतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र ३-०१-००६ ख ११७४ नम्बरको हाइसलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनले झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सिया भन्सार नजिक सडकबाट २ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र ३ बोतल नियन्त्रित लागूऔषध उइन्सिरेक्स सहित कलैया उपमहानगरपालिका-४ घुसुकपुर बस्ने बारा गढीमाई नगरपालिका-२ जोलगावा घर भएका २० वर्षीय सिद्धान्त कुमार यादव सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।  भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०३६ प २६५६ र प्रदेश २-०३-०२१ प १०९५  नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ जरुवाटोलबाट करिब १२ किलो अवैध लागूऔषध गाँजा, करिब ५० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ, नगद ७३ हजार ४ सय रुपैयाँ र १ हजार भारतीय रुपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका भैराङ बस्ने ४१ वर्षीय सुक बहादुर गोले र सोही ठाउँ बस्ने ४५ वर्षीय प्रकाश बल रहेका छन् । चुनियाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००५ प ७०२८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरूले प्रहरी चौकी भैसेमा खटिएको प्रहरीले जाँच गर्न खोज्दा भागेपछि उक्त टोलबाट नियन्त्रणमा लिएर जाँच गर्दा उक्त लागूऔषध र नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

डरधम्की दिई फिरौती रकम माग गर्ने दुई जना पक्राउ
२०७९-०३-१८

मोरङ, विराटनगर महानगरपालिका-३ बस्ने एक व्यक्तिलाई डरधम्की दिई फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-४  कञ्चनबारी बस्ने पथरीशनिश्चरे नगरपालिका-६ घर भएका ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे नगरपालिका-६ बस्ने २६ वर्षीय विशाल ऋषिदेव रहेका छन् । कार्कीले गत जेठ ३१ गते चिठ्ठी र फोन मार्फत पटक-पटक डरधम्की दिई फिरौती माग गर्ने गरेको र पीडितले शुक्रबार आएमईमार्फत पठाएको २५ हजार रुपैयाँ सहित विशाललाई थरीशनिश्चरे नगरपालिका-६ हसन्दहस्थित आएमइबाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।