प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा पत्रकार भेटघाट कार्यक्रम आयोजना
२०७९-०२-१९
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल सरकारले सुम्पिएको जिम्मेवारीमध्ये हालै एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा देखिएका दुर्बल पक्षलाई बिश्लेषण गरी कमजोरी देखिएमा सम्बन्धितलाई कारवाहीको दायरामा ल्याइने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, “संगठन प्रमुख फेरिदैमा संगठनको प्राथमिकता फेरिदैन । शान्ति सुरक्षा कायम राख्नुका साथै बस्तुनिष्ठ अपराध अनुसन्धान, मानवअधिकारको संरक्षण, जघन्य अपराधको अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्छु ।” संगठित अपराध अनुसन्धान एवम् नियन्त्रणमा मानवअधिकारको संरक्षण गर्दै प्रहरी संगठन अझ आक्रामक रूपमा प्रस्तुत हुने उल्लेख गर्दै उहाँले प्रहरीप्रतिको भरोसा कायम राख्न हालै गरिएका केही सुधारात्मक कार्यहरूबाट सुधारको संकेत देखापरेको र आगामी दिनमा प्रहरीले गरेका कामबाटै उपलब्धी प्रस्ट देखिने बताउनुभयो ।
प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा कार्यसम्पादन मूल्याङ्कन लगायत संगठनको प्रणाली अनुरूप निष्पक्ष रूपमा हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले यूएन मिसनमा प्रहरी कर्मचारीहरूको सहभागिताको लागि पहल गर्न समिति समेत गठन गरी प्रकृया अगाडि बढाइएको उल्लेख गर्नुभयो । स्थानीय तहको निर्वाचनमा सञ्चारकर्मीहरूबाट भएको सकारात्मक भूमिका निर्वाहप्रति आभार व्यक्त गर्दै प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढिकरणको लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उहाँले चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सिंह र उपस्थित सञ्चारकर्मीहरूबीच समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।