अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-२७
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट १३ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित रोल्पा माडी गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका ती किशोरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २६ वर्षीय जिबन लामिछानेलाई १ ग्राम ९५० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिबनले बैजनाथ गाउँपालिका-४ नौलापुरस्थित आफ्नै ससुराली घरमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतज्यन्ती चोकबाट ५ सय मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही महानगरपालिका-१५ बस्ने ३७ वर्षीय गौरी शंकर सिंह सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेका उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईबाट ५ ग्राम ६२ मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ती किशोरको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ सहित भारत घर भएका २७ वर्षीय अनुप प्रधानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका अनुपको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
संखुवासभा, खाँदवारी नगरपालिका-३ माल्टा खोला नजिक सडकबाट ४ किलो ४२० ग्राम अवैध लागूऔषध गाँजा सहित चिचिला गाउँपालिका-१ बस्ने ३० वर्षीय बबी गुरूङ सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । बा.६९ प १८९८ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट सुमनचोकबाट खटीएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।