अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-०२
- A
- A-
- A+
पर्सा, पर्सागढी नगरपालिका-८ हरपुरबाट ६ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बहुदरमाई नगरपालिका-९ बिश्रामपुर बस्ने ३४ वर्षीय सुरेन्द्र पटेल र सोही ठाउँ बस्ने ४५ वर्षीय ज्वाहिर रावत रहेका छन् । प्रदेश २-०३०२० प ८८०० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय एकटागाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक पटेल र मोटरसाइकलमा सवार रावतलाई पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट १४ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम फाकफोकथुम गाउँपालिका-१ एकतप्पा बस्ने २७ वर्षीय प्रकाश गुरूङ र पाँचथर फिदिम नगरपालिका-८ फिदिम बजार बस्ने २१ वर्षीय लक्षुमान तामाङ रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई लागूऔषध नियन्त्रण व्यूरो काँकारभिट्टा र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, बन्दीपुर गाउँपालिका-१ पिप्लेबाट नियन्त्रित लागूऔषध १९ एम्पुल नुफिन, १९ एम्पुल डाइजेपाम र १९ एम्पुल फेनारगन सहित सोही गाउँपालिका-४ भैसीखाँ बस्ने २१ वर्षीय मन बहादुर गुरूङ र सोही गाउँपालिका-४ च्यान्चा घर भएका ३० वर्षीय आशिष कायस्थलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । साथै थप अनुसन्धानको क्रममा लागूऔषध बिक्री बितरणमा संलग्न भानु नगरपालिका-१ शुक्रखोला बस्ने ३० वर्षीय भरत तामाङलाई उनकै घरबाट १ एम्पुल नुफिन, १ एम्पुल डाइजेपाम, १ एम्पुल फेनारगन र २ थान गोली सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरू उपर जिल्ला अदालत तनहुँबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरेहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।