अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-०५
- A
- A-
- A+
सर्लाही, हरिपुर नगरपालिका-९ दनुवारीबाट नियन्त्रित लागूऔषध ४ सय ९५ एम्पुल डाइजेपाम, ५ सय एम्पुल फेनारगन, १ सय ४४ एम्पुल स्पास्मोप्रोक्सभन र ५ सय एम्पुल लेबल तथा नाम नखुलेको लागूऔषध सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-३ बस्ने ३५ वर्षीय दिपक खत्री र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ बस्ने २६ वर्षीय बिजय लामा रहेका छन् । ना.२० प ९३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक दिपक र मोटरसाइकलमा सवार बिजयलाई पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-२ चालिसेबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित कास्की रुपा गाउँपालिका-१ फस्ल्याङकोट बस्ने २६ वर्षीय कृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ सोमबारे चोकबाट करिब २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, ९७ चक्की स्पसपेन र ९० चक्की प्रमोल सहित सोही ठाउँ बस्ने २१ वर्षीय अमृत लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।