प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विमा रकम ठगी सम्बन्धी कसूरमा संलग्न छ जना पक्राउ

२०७९-०४-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर नगरपालिका-११ बस्ने २१ वर्षीय सर्जन बिकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवन बिमा बापतको नगद २ करोड ५० लाख रूपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका-६ वतन भई हाल बाँके कोहलपुर नगरपालिका-११ बस्ने ३१ वर्षीय सञ्जिव अर्याल, कोहलपुर नगरपालिका-१५ बस्ने ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका-८ वतन भएका ३३ वर्षीय टोप बहादुर राना क्षेत्री, कोहलपुर नगरपालिका-११ वतन भएका ३८ वर्षीय दिपक केसी र कोहलपुर नगरपालिका-१ वतन भएकी  आरती भन्ने २१ वर्षीया ललिता सापकोटा रहेका छन् । 

बैजनाथ गाउँपालिका-६ लालपुरस्थित भित्री सडकमा टोप बहादुरले चलाएको भे.१ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट गम्भीर घाइते भएका भे.१० प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा २०७८ वैशाख २ गते मृत्यु भएको थियो । मृतकको बीमा बापतको रकम रिलायन्स लाइफ ईन्स्योरेन्स कम्पनीबाट मृतककी श्रीमती सपना मल्लले बुझि कामना सेवा बिकास बैंक कोहलपुरमा रहेको आफ्नो बैंक खातामा जम्मा गरेको र उक्त रकम बाडफाड समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । सर्जन विकको सवारी दुर्घटनामा भएको मृत्यु शंकास्पद देखिएकोले सत्यतथ्य अनुसन्धान गरिपाउँ भन्ने नेपाल पुर्नबिमा कम्पनीबाट पत्राचार भएपछि सुक्ष्म अनुसन्धानको क्रममा विभिन्न भूमिका सहित उनीहरू ठगीमा संलग्न भएको खुल्न आएपछि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमबार तथा सन्जीव, सरदार अहमद, टोप बहादुर, दिपक र ललितालाई बाँके कोहलपुरबाट बुधबार पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
राजस्व छलीका मोबाइलहरू सहित एक जना पक्राउ
२०८०-१२-१८

ललितपुर, ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित ट्रेन्डिङ मोबाइल हबबाट करिब १५ लाख रूपैयाँ मूल्य बराबरका भन्सार छली चोरी पैठारी गरी ल्याएका ३५ थान मोबाइलसहित हबको संचालक सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका २२ वर्षीय सरोज योञ्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  ललितपुरको बालकुमारी एरियामा विभिन्न कम्पनीका मोबाइलहरू राजस्व/भन्सार छली चोरी पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।  

बिल नभएको सुन जस्तो देखिने धातुसहित दुई जना पक्राउ
२०८०-०९-०४

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बिरेन्द्र चोकस्थित बजारबाट बिल कागजातहरु नभएको सुन जस्तो देखिने पहेलो धातु १ तोला २.५ लालसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ डाडाकुटी बस्ने २१ वर्षीय शेर बहादुर बिश्वकर्मा र १९ वर्षीय रुप लाल बिश्वकर्मा रहेका छन्  । उक्त बजारमा केही व्यक्तिहरूले बिल कागजातहरु नभएका अवैध सुनका गरगहनाहरु बिक्री गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेलो धातुबाट बनेका हाईड्रोलकेट ६ थान, टिकटकमाला ८ थान, बेबी साईडहार ६ थान र औठी २४  थान गरी जम्मा उक्त तौलको धातु फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको छ । 

अवैध हिरासहित एक जना भारतीय नागरिक पक्राउ
२०८०-०८-२६

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय संजय मैतीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई बिल नभएको भन्सार छली ल्याएको हिराजस्तो देखिने धातुसहित फेला पारेको र उक्त धातु सुनचाँदी व्यवसायी संघबाट परीक्षण गर्दा हिरा भएको पुष्टी भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध अमेरिकी डलरसहित एक जना पक्राउ
२०८०-०८-१८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित रिपब्लिक अफ पोल्याण्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेजलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्याण्ड जान लागेकी उनलाई विमानस्थलमा जाँच गर्ने क्रममा १ सय दरको १ सय १३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार ५ सय अमेरिकी डलरसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

नक्कली नोटसहित दुई जना महिला पक्राउ
२०८०-०८-०५

काठमाडौं, नक्कली नेपाली रूपैयाँसहित दुई जना महिला काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् । सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१  थान नक्कली नोट बरामद भएको छ । सिर्जना र कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले  कुमारीलाई बुढानिलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।