अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-२०
- A
- A-
- A+
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ गुरुङचोकबाट करिब २ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने दैलेख नौमुले गाउँपालिका-२ घर भएका २२ वर्षीय जिबन कुमार सिंह र उनकै श्रीमती २० वर्षीया बिमला बुढा क्षेत्री रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको लागूऔषध ब्युरो, प्रदेश लागूऔषध ब्यूरो शाखा र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ कमानेभोर्ले बस्ने ५६ वर्षीय मंगलसिंह भोम्जन र २९ वर्षीय कृष्ण थिङलाई करिब ४ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा मंगलसिहं भोम्जनको घरबाट करिब ४ किलो र कृष्ण थिङको घरबाट करिब ५ सय ग्राम लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-६ प्रेमनगरबाट करिब १४ ग्राम ७५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अछाम साफेबगर नगरपालिका-७ रिडिकोट बस्ने २२ वर्षीय दिपेन्द्र केसी र कञ्चनपुर कृष्णपुर नगरपालिका-४ गुलरीया बस्ने २४ वर्षीय गणेश भण्डारी रहेका छन् । सु.प.प्रदेश ०१-००८ प ८८७८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिटकभरभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
तनहुँ, सुक्लागण्डकी नगरपालिका-२ कोत्रेबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित मकवानपुर कैलाश गाउँपालिका-६ गोगने ककनी घर भई हाल कास्की पोखरा महानगरपालिका-६ लेक साईड बस्ने २८ वर्षीय विश्व कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ३८७३ नम्बरको माईक्रो बसलाई प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबसमा सवार कार्कीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।