अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-२२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ सिरानचोक गाउँपालिका-८ बस्ने ५१ वर्षीय सानुबाबु अधिकारीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । बा.३ ख ५२७ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ नयाँपुलस्थित बाटोबाट नियन्त्रित लागूऔषध १६ एम्पुल नुर्फिन, १६ एम्पुल फेनारगन र १६ एम्पुल डाइजेपाम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ पदमपोखरी बस्ने २८ वर्षीय रमेश बिक र सोही ठाउँ बस्ने २८ वर्षीय सजन बिक रहेका छन् । अस्थाई प्रहरी पोष्ट थानाभर्याङबाट गस्तीमा खटिएको प्रहरीले उनीहरूलाई झोलामा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट २ ग्राम ९४ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका-१२ बस्ने २२ वर्षीय सुहन लिम्बु र बेलबरी नगरपालिका-११ बस्ने ३१ वर्षीय सिकुम योङहाङ रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प २६३ नम्बरको मोटरसाइकललाई लागूऔषध व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।