अवैध लागूऔषध सहित पक्राउ
२०७९-०६-१७
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-६ शान्तिनगर चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ८५ ट्याब्लेट, नाईट्राजेपाम १ सय ५० ट्याब्लेट, नाईट्रोसन १० ट्याब्लेट र केएलएबी लेखिएको १ बोतल झोल पदार्थसहित महोत्तरी बर्दिबास नगरपालिका-२ बस्ने ३० वर्षीय अजय कुमार झालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको ना.६ ख १५५५ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै बसका चालकलाईसमेत आवश्यक अनुसन्धानकालागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, बिदेह नगरपालिका-१ ठाडीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ७५ ट्याब्लेटसहित हंसपुर नगरपालिका-७ बस्ने २३ वर्षीय सुरेश कुमार यादवलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १४ मिलिग्राम सहित सोही ठाउँ बस्ने १३ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।