अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
२०७९-०६-३०
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१७ धोबिचौरबाट नियन्त्रित लागूऔषध नुर्फिन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल, फेनारगन ३५ एम्पुल र नगद २ हजार ५ सय रुपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने धनकुटा पाख्रिबास नगरपालिका-१० चुहाङ घर भएका १८ वर्षीय किशोर लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुजल मगरले आफ्नो कोठामा लागूऔषध लुकाई छिपाई बिक्रिबितरण गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१३ डुमरगाँउबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ३० मिलिग्राम सहित सही उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय सरोज महरा क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सो ठाउँस्थित अवैध लागूऔषध खैरो हेरोईनको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको शरीर तलासी गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-१२ हरिगवास्थित आँपको बगैंचाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१२ मानपुर बस्ने ३१ वर्षीय ओम प्रकाश पाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त बगैंचामा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको शरीर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
पर्सा, जिराभवानी गाउँपालिका-४ स्थित गाउँ बस्तीबाट करिब २ किमी टाढा खेतबाट अवैध लागूऔषध गाँजा अन्दाजी २० केजी गएराति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट खटिएको प्रहरीले गस्ती जाने क्रममा बेवारिसे अवस्थामा २ वटा बोरामा रहेको उक्त गाँजा फेला परी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।