छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०७९-०७-२७
- A
- A-
- A+
काठमाडौं, झापा, बुद्धशान्ती गाउँपालिका-३ बुद्धटोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय २ ग्राम सहित कचनकवल गाउँपालिका-१ घर भई हाल बुद्धशान्ती गाउँपालिका-३ बस्ने ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा हुसेनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध मेचीनगर नगरपालिका-८ मेची आवास बस्ने २८ वर्षीय बिकाश राजबंशीले खरिद गरी ल्याएको भन्ने खुल्न आएपछि प्रहरीले उनको समेत कोठा तलासी गर्दा थप २५ ग्राम २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजु बरामद गरेको छ । हाल फरार रहेका बिकाश राजबंशीको प्रहरीले खोजी गरिरहेको छ ।
सिरहा, धनगढीमाई नगरपालिका-५ तेतिस बिघास्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम ९ सय २० मिलिग्राम र नगद २९ हजार रूपैयाँ सहित सोही नगरपालिका-१३ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स.८ प २२९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ बैसठ्ठी नम्बर पिलर चोक फुटाहबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भे.१२ प ४१९७ नम्बरको स्कुटरलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१ कारागार नजिकबाट सोही उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय आयुष सिंहलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दाङ, लमही नगरपालिका-९ अमिलियाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ३ सय ९५ ग्राम सहित जाजरकोट जुनचाँदी गाउँपालिका घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे बस्ने १७ वर्षीय किशोर सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश ३-०२-००२ प ७९२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।