अवैध लागूऔषध सहित पक्राउ
२०७८-०७-०७
- A
- A-
- A+
काठमाडौं, सुनसरी, इटहरी उपमहानगरपालिका-१४ एकम्बा बस्ने २७ वर्षीय शिवे सरदार र उनकै श्रीमती २८ वर्षीया सगुन माझी सरदारलाई ४१ ग्राम ५ सय ९० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, नगद १५ हजार ७ सय १० रुपैयाँ र १ थान डिजिटल काँटा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका-१७ स्थित सडकमा लागूऔषध खैरो हेरोईन ओसारपसार तथा विक्री गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले लागूऔषध विक्री गर्दै गरेका शिवेलाई २ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा शिवे र उनकै श्रीमतीले लागूऔषध बिक्री गर्नका लागि प्लाष्टिकको पोका बनाई कोठामा लुकाई राखेको अवस्थामा थप ४१ ग्राम ३ सय ९० मिलिग्राम खैरो हेरोइन समेत गरी उक्त परिमाणको खैरो हेरोइन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-५ ब्राईटचोक बस्ने मन बहादुर भुजेललाई नियन्त्रित लागूऔषध ४५ एम्पुल डाइजेपाम, ४५ एम्पुल नोर्फिन र ४४ एम्पुल फेनारागन सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध राखेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-२ छप्कैया गाँउबाट २ सय ९९ एम्पुल नियन्त्रति लागूऔषध नाइट्राभेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय उपेन्द्र कुश्वाहालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारत रक्सौलबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।