अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
२०७९-०९-०२
- A
- A-
- A+
काठमाडौं, कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ ढकनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय मनमोहन सिंह साँउदलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले सु.प.प्र.०२-००३ प ७७६१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ८ किलो सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-६ बस्ने ३२ वर्षीय फुलमाया घलान र सोही ठाउँ बस्ने ३४ वर्षीया मनमाया घलान रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, उदयपुरगढी गाउँपालिका-७ बागखोरबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो शनिबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीलाई देख्नासाथ प्र.१-०५-००१ प १९७६ र प्र.१-०५-००१ प ५७३२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका अपरिचित व्यक्तिहरूले मोटरसाइकल र झोला छोडी फरार भएपश्चात झोला जाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको हो । फरार व्यक्तिहरूको खोजी भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।