प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल चोरी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ

२०७९-०९-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौं जरंखु बस्ने बझाङ दुर्गाथलीका २४ वर्षीय जै बहादुर बोहरा, काठमाडौं कोटेश्वर बस्नेहरू सर्लाही बरथहवाका २३ वर्षीय मनोज मुखिया र कञ्चनपुर पुनर्वासका ३५ वर्षीय दुर्गा लामा सिङ्तानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले जै बहादुरलाई बा.प्र.-०२-०२३ प ९६९६ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको र थप अनुसन्धानको क्रममा मनोज र दुर्गा समेतलाई नयाँ बसपार्कबाट प्र.०२-०३० प ४५८० नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै उनीहरूले मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ । 

यसैगरी बाग्मती प्रदेश-०२-०१६ प ६०२९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा भक्तपुर बस्ने रामेछाप दोरम्बाका २२ वर्षीय रिदम बहादुर थापा मगर र सोही ठाउँ घर भई काठमाडौं सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-९ मंगलबजार बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका कञ्चन खत्रीको उक्त मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको प्रहरीले उनीहरूले उक्त मोटरसाइकलमा बा.प्र.०२-०१९ प ९५६४  नम्बर प्रयोग गरी ललितपुर ताल्छिखेलमा चलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई मोटरसाइकल सहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल बुझाइएको छ ।  

साथै यस आर्थिक वर्षको मंसिर मसान्तसम्म काठमाडौँ उपत्यकाका बिभिन्न स्थानबाट हराई फेला परेका १ सय ९४ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनिलाई हस्तान्तरण गरिएको र १९ वटा दुई पाङ्ग्रे सवारी साधन सहित नियन्त्रणमा लिएका १९ जनालाई आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी परिसर र वृत्तमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ । 


सम्बन्धित समाचार
चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०१-०४

सुनसरी, इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-४ गैरीगाउँबाट बस्ने ३७ वर्षीय उमेश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इटहरी उपमहानगरपालिका-४ गैरीगाउँबाट मलामी आएका उमेश र धरानका ३० वर्षीय अनिल तामाङले चिर्पट प्रहार तथा कुटपिट समेत गर्दा गम्भीर घाइते भएका बिनोदको बेदान्त हस्पिटल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उमेशलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अनिल तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
२०८१-०१-०४

काठमाडौं, नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा, झापा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी संचालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका-७ गंगाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन् । नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पुजा लोवालाई काठमाडौं चावहिल तथा ओम कुमारी पुनलाई काठमाडौं ज्ञानेश्वरबाट पक्राउ गरेको हो । साथै पीडित बालिकालाई उद्दार गरी हाल सुरक्षित आवासमा राखिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा नाबालिकालाई वेटरको काममा लगाईदिने भनि ओम कुमारीले नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्टमा पठाई रेष्टुरेन्ट संचालकद्वारा ललाई फकाई तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाएको, तत्पश्चात निज नाबालिकालाई काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा लगि काममा लगाएको र उक्त स्पाकी संचालक पुजा लोवाले नाबालिकालाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै ओम कुमारीले निज नाबालिकालाई रातीको समयमा ग्राहकहरूको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसहरूमा पठाओ प्रयोग गरि पठाई वेश्यावृत्तिमा समेत लगाउने गरेको खुल्न आएको हो । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।