प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

२०७९-०९-१५

  • A
  • A-
  • A+
Share

माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभएको   थियो । 

निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको ‘सेवा प्रतिको सन्तुष्टि र कार्य सम्पादनमा प्रभाव पार्ने तत्वहरू: नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको मामला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक’ २ वटा छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिकिकरण गर्नुभयो ।  

नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको कार्य सम्पादनमा प्रभाव पर्ने तत्वहरूको पहिचान गर्ने र सुधारका क्षेत्रहरू पहिल्याउने उद्देश्यले गरिएको अध्ययनले कार्य वातावरण, कार्य सन्तुष्टि, कार्य उत्प्रेरणा र कार्य सम्पादनलाई एक अर्काको परिपूरकको रूपमा अन्तर सम्बन्धीत रहेको देखिएको उक्त प्रतिवेदनमा देशभरबाट विभिन्न जिल्लामा कार्यरत १ हजार ३ सय ८६ जना नेपाल प्रहरीका जुनियर प्रहरी अधिकृतहरूमा सर्वेक्षण, गहन अन्तरवार्ता तथा सुपरिवेक्षक तहका प्रहरी कर्मचारीहरूसँग लक्षित छलफलको माध्यमबाट परिमाणात्मक र गुणात्मक दुवै किसिमका तथ्याङक विश्लेषण गरी प्रतिवेदन तयार पारिएको छ । यसैगरी नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक अध्ययन प्रतिवेदनमा देशभरबाट कक्षा १० देखि स्नातक तह सम्म अध्ययनरत १ हजार ३ सय ६१ जनालाई सहभागी गराई प्रहरीको काम कर्तव्यप्रति युवाको धारणा र सेवाप्रति युवाहरूको आकर्षणका सम्बन्धमा सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको थियो । 

कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले जस्तो सुकै विषम परिस्थितिमा पनि किन्चित विचलित नभई अहोरात्र जनताको सेवामा खटिई देशको आन्तरिक शान्ति सुब्यवस्था कायम गर्नुको साथै अपराधको रोकथाम तथा नियन्त्रण र अपराध अनुसन्धानमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आईरहेको चर्चा गर्नुभयो ।  संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिनु हुने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरु र बहालवाला प्रहरी अधिकृत तथा जवानहरु प्रति समेत उहाँले सम्मान प्रकट गर्नुभयो । 

संगठनको बिकास र बिस्तार तथा प्रहरी कर्मचारीहरुको बृत्ति विकास गर्ने कार्यलाई प्राथमिकता दिईने बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘आवश्यकतानुसारको प्रहरी कार्यलयहरुको भौतिक संरचनाहरु छैनन, तल्लो तहका प्रहरी कर्मचारीहरु  ब्यारेकमा कष्ट पुर्ण तरिकाले सुत्नु परेको अवस्था छ, प्रहरी प्रधान कार्यलयमा कार्यरत कर्मचारीहरुको लागि आवास गृह छैन, स्केलमा पाउनु पर्ने सामानहरु समयमा तोकिए बमोजिम पाउन नसकेको अवस्था छ र महङ्गी अनुसारको राशनको व्यवस्था नहुने अवस्थाको अव अन्त गरिनु पर्छ ।’ प्रविधिको विकास संगै त्यसको दुरुपयोगबाट श्रृजित अपराधको अनुसन्धानको चुनौतिको सामना गर्न नेपाल प्रहरीलाई मजबुद बनाउन आवश्यक प्रविधिको विकास प्राथमिकता रहेको उहाँले बताउनुहुँदै प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरणको श्रृजना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजिकरण गर्न सदैव तत्पर रहेको समेत बताउनुभयो ।  

नागरिकको अपेक्षा अनुरुपको चुस्त दुरुस्त सेवा प्रवाह गर्न गराउन उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले सर्वसाधरणको प्रहरी सेवामा सहज पहुँचको व्यवस्था र दण्डदहिनताको अन्त्यको साथै भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीति व्यवहारमा लागू गर्न समेत निर्देशन दिनुभयो । विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दी बिरुद्ध निर्मम भएर प्रहरी कारवाही गर्न विशेष निर्देशन दिँदै उहाँले सीमा क्षेत्रमा हुने भन्सार छलि, तस्करी तथा अन्य अनियमितता, लागूऔषध बिक्री वितरण र सेवनलाई पुर्णत निस्तेज पार्न विषेश कार्ययोजना बनाई कार्यसम्पादन गर्न समेत उहाँले निर्देशन दिनुभयो । महिला, बालबालिका र जेष्ठ नागरिकहरुको सन्दर्भमा अझ बढी संबेदनशिल भएर सोही अनुसार सेवा प्रवाह गर्न समेत उहाँले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले कानून कार्यान्वयनको शिलसिलामा कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी भई कानूनले दिएको अधिकार निश्चिन्त भइ प्रयोग गर्न सवै प्रहरी कर्मचारीहरू दत्त चित्त भइ आ-आफ्नो ठाउँबाट इमान्दार भई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । सरुवा, बढुवा र बृत्ति विकासको लागि मापदण्ड तयार गरी लागु गरिने र मापदण्ड र कार्य सम्पादनको मुल्यांकनको आधारमा बढुवा र सरुवा गर्ने गराउने व्यवस्था कडाइका साथ पालना गरिने समेत उहाँले उल्लेख  गर्नुभयो ।  

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गृहमन्त्रीज्यूबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । संगठनले प्राप्त गरेको तालुक गृह मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गर्दै  संगठनको नीति अनुरूप कार्य सम्पादनको मूल्याङकनको आधारमा सरूवा, बढुवा पारदर्शी रूपमा हुने एवम् प्रहरी अधिकृतहरूको सरूवा उनीहरूको व्यावसायिकता तथा दक्षताको आधारमा गरिएको बताउनुभयो । 

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछाने समक्ष प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा, निर्वाचन सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । सोही अवसरमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्तको जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा सम्बन्धी अनुसन्धानको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालय, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको   थियो ।


सम्बन्धित समाचार
गृहसचिव एकनारायण अर्यालबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०८०-१२-०५

काठमाडौं, गृहसचिव एकनारायण अर्यालले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहसचिव एकनारायण अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा गृहसचिव अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै उहाँले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित “भौतिक सबुद संकलन र संरक्षण सम्बन्धी दिग्दर्शन” पुस्तक विमोचन गर्नुभयो । कार्यक्रममा गृहसचिव अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान एवम् नियन्त्रणमा नेपाल प्रहरीले कुशलतापूर्वक कार्य गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा देखिएका चुनौतिहरूको समाधानका लागि सबै प्रहरी कर्मचारीहरूको पूर्ण सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो । नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको बताउनुहुँदै गृहसचिव अर्यालले भन्नुभयो, “समग्र गृह प्रशासनलाई समसामाहिक हिसाबमा रूपान्तरण गर्नुपर्ने छ । अहिले भएका कार्यसम्पादनबाट हामी आफै पनि सन्तुष्टि छैनौं । जनताहरू पनि सन्तुष्टि भएका अवस्था छैनन् । हाम्रा कार्यशैलीमा परिवर्तन गर्नुपर्ने छ र अबका दिनहरूमा गृह प्रशासनमा नयाँ ढंगले काम गर्नुपर्छ भन्ने आफ्नो मन र मस्तिष्कमा राख्नुहोला ।”  गृहसचिव अर्यालले मुलुकको आन्तिरक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाएको खण्डमा नागरिकहरूले स्वतन्त्रता पूर्वक आफ्नो व्यक्तित्व निर्माण गर्नका लागि शान्तिपूर्ण वातावरण सिर्जना भई आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्ति विकासमा सांगठनीक प्रणाली अन्तर्गत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको पिरमर्का, गुनासोहरूको सम्बोधनको लागि सम्बन्धित कार्यालय प्रमुखहरू क्रियाशील हुनुपर्ने उहाँले बताउनुभयो । नागरिकसँग सम्बन्धित ऐन, कानूनको अध्ययन गरी सेवाग्राहीलाई सोही अनुरूपमा सेवा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गृहसचिव अर्यालले शून्य सहनशिलताको नीतिलाई अबलम्बन गर्नुपर्ने, चेन अफ कामण्डको उचित कार्यान्वयन गर्नुपर्ने बताउनुहुँदै तस्करी नियन्त्रण एवम् राजश्व चुहावट नियन्त्रणमा अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै थप सक्रिय भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । नैतिकवान् र प्रविधियुक्त प्रहरी आवश्यक रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “राम्रो काम गर्नलाई डराउनुपर्दैन । व्यावसायिक, उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुहोस् ।” कार्यक्रममा गृहसचिव एकनारायण अर्याल समक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना, २०८०, लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८०/०८१, प्रहरी कर्मचारीको सरूवा सम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग-१ र भौतिक सबुद संकलन र संरक्षण सम्बन्धी दिग्दर्शन पुस्तक प्रदान गर्नुभयो । सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यका प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउँदै न्यायपूर्ण व्यवस्था कायम गर्न तालुक गृह मन्त्रालयको प्रत्यक्ष सुपरिवेक्षणमा रही समृद्ध, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणमा, समग्र नेपाल प्रहरी संगठन र आबद्ध सकल दर्जा कटिबद्ध रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको छ र नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा गृह सचिवज्यूबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत व्यक्त गर्नुभयो ।  निरीक्षण भ्रमणको क्रममा गृहसचिव अर्याल समक्ष प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना, अपेक्षा र प्रहरी समायोजन लगायतका विषयमा नेपाल प्रहरीको सांगठनिक प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०८०-११-२७

काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालयको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिनु हुने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरू प्रति सम्मान समेत प्रकट गर्नुभयो ।  कर्मचारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी कानूनी परिधिमा रही निर्वाह गर्नुपर्ने तथा उनीहरूको वृत्तिविकासको सुनिश्चितता संगठनले गर्नुपर्ने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, “कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस् । त्यसको कार्यान्वयनको लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु ।” निर्धक्क भएर नीति र विधिको परिधिमा रहेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ठूलो जनशक्ति तल्लो तहका कर्मचारीहरूको भएको र उनीहरूको गुनासो सम्बोधन गर्न प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, “कुनै पनि घटना तथा अपराधको छानविन र अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस् । अनुसन्धान प्रमाणमुखी हुनुपर्दछ र कानूनको नजरमा सबै बराबर हुनुपर्दछ ।” कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा हरेर होइन प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारवाही गर्न आग्रह गर्दै त्यसबाट उब्जने चुनौतिको डटेर सामना गर्दा र सुरक्षा कवच भएर आफै उभिने उहाँले बताउनुभयो । प्रहरी कर्मचारी चुस्त, फुर्तिलो, अनुशासित, चनाखो, दह्रो, खरो प्रहरी आफूले हेर्न चाहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जसलाई देख्दा बद्‍मासहरूलाई डर होस् र आम सर्वसाधरणलाई भर होस् ।” गृहमन्त्री लामिछानेले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरणहरू र दक्ष जनशक्तिको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो । पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, फरक क्षमता भएका वर्गको न्यायका लागि अझ बढि सजग र सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उहाँले निर्देशन दिनुभयो । मिटरब्याज पीडित, सहकारी पीडितहरूको समस्या ठूलो चुनौतिको रूपमा रहेको उल्लेख गर्दै आर्थिक अपराध, ठगी, साइबर क्राइम लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा जनचेतना अभिवृद्धिको साथै मन, वचन र कर्मले  सेवाभावका साथ जनअपेक्षा अनुरूप काम गर्न उत्प्रेरित भई उत्कृष्ट नतिजा ल्याउन उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उहाँले जोड   दिनुभयो । सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहमन्त्रीज्यूबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि संगठन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । समयको गतिशीलता र परिवर्तनमुखी सामाजिक परिवेश सँगै श्रृजित चुनौतिहरूलाई निस्तेज तुल्याउँदै, समाजको परिवर्तनको गति र दिशा अनि आम नागरिकको चाहना बमोजिम प्रहरी सेवालाई समयसापेक्ष थप जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसा योग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।  राज्यले अंगिकार गरेको नीति र दिएको निर्देशन, कुनै गुनासो र स्वार्थ बिना कार्यान्वयन गर्ने आफ्नो मूलभूत दायित्वबाट कहिल्यै विमुख नभएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “नेपाल प्रहरीको संस्थागत विकास, यसमा आवद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूको व्यावसायिक मनोबल र समग्र सांगठनिक हितको लागि तालुक गृह मन्त्रालयबाट अभिभावकीय भूमिका निर्वाह हुनेमा नेपाल प्रहरी विश्वस्त रहेको छ ।”  कानूनले प्रदान गरेको पद र त्यसमा निहित अधिकारको दुरूपयोग गरी गैह व्यावसायिक क्रियाकलाप र आर्थिक अनियमिततामा संलग्न रहने प्रवृत्ति उपर नेपाल प्रहरीले निर्मम प्रहार गर्दै प्रहरी संगठनमा आन्तरिक शुद्धिकरण मार्फत सांगठनिक सुदृढिकरणलाई अर्जुन दृष्टि मान्दै सोही अनुरूप संगठन क्रियाशील रहेको उहाँले चर्चा गर्नुभयो । निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछाने समक्ष प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना, अपेक्षा र प्रहरी समायोजन लगायतका विषयमा नेपाल प्रहरीको सांगठनिक प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

सुशासन र समृद्धिको अभियानमा उच्च समर्पणसहित योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ
२०८०-११-११

बाँके, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्ने, शान्ति प्रकियाका बाँकी काम सम्पन्न गरी दिगो शान्ति स्थापना गर्ने कार्य वर्तमान सरकारको मुख्य कार्यभार रहेको उल्लेख गर्दै सुशासन र समृद्धिको अभियानमा सबैले उच्च समर्पणसहित योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयको संयुक्त आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा बिहीबारदेखि नेपालगंजमा सुरू भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । उक्त अवसरमा गृहमन्त्री श्रेष्ठले राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रूपमा हुने विभेद न्यूनिकरण, नागरिकका अपेक्षा सम्बोधन र समस्या सामाधानका लागि स्थानीय प्रशासनले अग्रगामी सोच सहित कार्य गर्नुपर्ने बताउनुभयो । गोष्ठीमा भएका छलफलका विषयहरू कार्यान्वयन हुने र यसले मुलुकको शान्ति सुव्यवस्था र नागरिकको समृद्धि तथा अमनचयनमा दखिने गरी सुधार हुने अपेक्षा रहेको उहाँले बताउनुभयो । समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयका गृहमन्त्री सन्तोष कुमार पाण्डेय र लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले गोष्ठीको महत्वबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा गृहसचिव दिनेश भट्टराईले धन्यवाद ज्ञापन व्यक्त गर्दै सबै सुरक्षा निकायहरूले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै कानून विपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने उल्लेख    गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर समग्र प्रदेशमा देखिएका समस्या तथा चुनौतिहरूको पहिचान तथा विश्लेषण गरी प्रदेशको प्रयास र केन्द्रको अपेक्षा बुझ्न एकिकृत र समन्वयात्मक रूपमा आयोजित गोष्ठी उपलब्धीमूलक भएको चर्चा गर्नुभयो । प्रदेशमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा सम्पूर्ण सरोकारवाला निकाय र सुरक्षा निकाय बिचको आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो । प्रदेशगत अपराधको तथ्याङक विश्लेषण गरी योजनाबद्ध प्रहरी परिचालन मार्फत समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न अराजक, अवाञ्छित तथा आपराधिक गतिविधि नियन्त्रणका लागि स्पष्ट जिम्मेवारी बोध र निर्भिकतापूर्वक कानूनको कार्यान्वयन गर्न गराउन उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन उहाँले दिनुभयो ।गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो । गोष्ठीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेना युद्दकार्य विभागका उपरथी प्रेमध्वज अधिकारी, राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, गृह मन्त्रालयका पदाधिकारीहरू, नेपाली सेनाका प्रतिनिधि, लम्बिनी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

सामूहिक एवम् व्यक्तिगत जवाफदेहिताको संस्कृति निर्माण गरी नागरिक पहिलो भन्ने सिद्धान्त अनुकूल कार्य गर्नुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ
२०८०-११-१०

बाँके, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान र कानुनले व्यवस्था गरे बमोजिम आफ्ना कार्यहरूलाई निर्देशित गर्ने, संस्थागत एवम् व्यवसायिक समन्वय र सहकार्यलाई प्रवर्धन गर्ने, सामूहिक एवम् व्यक्तिगत जवाफदेहिताको संस्कृति निर्माण गरी नागरिक पहिलो भन्ने सिद्धान्त अनुकूल कार्य गर्नुपर्ने बताउनुभएको छ ।  नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयको संयुक्त आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा बिहीबारदेखि नेपालगंजमा सुरू भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को उद्‍घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।  गृहमन्त्री श्रेष्ठले संघीय व्यवस्थाको कार्यान्वयन सँगै नयाँ नयाँ अवसर तथा चुनौतीहरू देखा परेको उल्लेख गर्दै नीति, कार्यक्रम, आन्तरिक क्षमता समेत सोही अनुरूप निरन्तर समायोजन गर्दै जानुपर्ने आवश्यक रहेको बताउनुभयो । तहगत सरकारका निकायहरू बीचको समन्वय बढाउँदै स्थानीय प्रशासन थप प्रभावकारी बनाउन यस प्रकारका अन्तरक्रियात्मक कार्याशाला गोष्ठीले विशेष महत्व राख्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  नेपाल सरकारले लिएको “सुशासन, सामाजिक न्याय र समृद्धि” को लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण आधार भएको चर्चा गर्दै मुलुकको आर्थिक सम्वृद्धिको लागि वातावरण निर्माण गर्ने र ऐतिहासिक परिवर्तनले ल्याएका लाभहरू जनताले उपभोग गर्ने वातावरण निर्माण गर्न तथा व्यवस्थाप्रति जनताको भरोसा अझ उचो बनाउन सुरक्षा र विकासलाई सँगसँगै लैजानुपर्ने आवश्यक रहेको बताउनुभयो । सुशासन, स्थिरता र विकासका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा निरन्तर कार्य गरिरहेको समेत उहाँले बताउनुभयो ।  गृहमन्त्री श्रेष्ठले लागू औषध दुरुपयोग नियन्त्रण, प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण साना हातहतियारको अवैध ओसारपसार नियन्त्रण गैर व्यावसायिक कृयाकलापको नियन्त्रण गरी उपभोक्ता र सर्वसाधारणको हित संरक्षण समेत उत्तिकै महत्वपूर्ण विषय भएकोले यो क्षेत्रहरूमा समेत योजनावद्व रुपमा कार्ययोजना बनाई कार्य गर्न आग्रह गर्नुभयो । लुम्बिनी प्रदेशस्तरिय सुरक्षा गोष्ठीबाट यस प्रदेशको विषयमा केन्द्रित भई राष्ट्रियस्तरमा समेत शान्ति, सुशासन र स्थिरताको लागि उपयोगी हुने सुझाव, रणनीति र कार्ययोजना निर्माण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।गृह सचिव दिनेश भट्टराई, लुम्बिनी प्रदेश सरकार र गृह मन्त्रालयका मन्त्री सन्तोष कुमार पाण्डेयले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयका सचिव लालबाबु कवारीले स्वागत मन्तव्य तथा गोष्ठीको उदेश्य सम्बन्धी जानकारी दिनुभएको थियो ।  गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, लुम्बिनी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एवम् प्रदेश अन्तर्गत प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको छ । दुई दिवसीय उक्त गोष्ठी शुक्रबार सम्पन्न हुनेछ ।

शान्ति सुरक्षालाई थप मजबुद र विश्वसनीय बनाई जनमैत्री र नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गर्नुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ
२०८०-१०-२०

कास्की, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशको समग्र शान्ति सुरक्षालाई थप मजबुद र विश्वसनीय बनाई जनमैत्री र नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयको शनिबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा प्रदेश मातहत कार्यालयका प्रमुखहरू र गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले प्रदेश प्रहरी कार्यालयको परिसर, संरचना, सवारी साधन, शाखाहरूको निरीक्षण तथा अनुगमन, कार्यालयको बस्तुस्थिती एवम् संक्षिप्त प्रस्तुतिकरणमा सहभागी हुनु भई गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षा सम्बन्धमा जानकारी समेत लिनुभयो । सो अवसरमा गृहमन्त्री श्रेष्ठले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन र नेपाल सरकार तथा विभागीय नीति निर्देशन समेतलाई मध्यनजर राखी आ-आफ्नो जिम्मेवारी त्रुटिरहित तवरबाट सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । आत्महत्या, महिला तथा बालबालिका विरूद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लिन समेत उहाँले उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहमन्त्री ज्यूबाट प्राप्त निर्देशनले आगामी दिनमा प्रहरी थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गर्नुभयो ।सो अवसरमा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिकासराज खनालले सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । 

आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ
२०८०-१०-२०

कास्की, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनु पर्ने र जुनसुकै परिस्थितिको सामना गर्न सुरक्षाकर्मीहरू सदैव तयार रहनुपर्ने बताउनुभएको छ ।नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा शुक्रबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । उक्त अवसरमा गृहमन्त्री श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा विभिन्न कानूनहरूको निर्माण गर्दै शान्ति भंग गर्ने र संविधान विरूद्ध काम गर्नेहरु प्रति कडा रूपले प्रस्तुत हुने नीति अवलम्बन गरिएको बताउनुभयो ।  समारोहमा गृहसचिव दिनेश भट्टराईले सबै सुरक्षा निकायहरूले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै कानून विपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने विचार व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको शान्ति सुरक्षा सम्बन्धी मन्तव्य व्यक्त गर्दै अपराध नियन्त्रण लगायत शान्ति सुरक्षा कायम गर्ने काममा प्रदेशले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताउनुभयो । गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो । गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेना युद्दकार्य विभागका उपरथी प्रेमध्वज अधिकारी, गृह मन्त्रालयका पदाधिकारीहरू, नेपाली सेनाका प्रतिनिधि, गण्डकी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।