प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न व्यक्तिहरू पक्राउ

२०७९-१०-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी राजविराज नगरपालिका-३ बस्ने ४१ वर्षीय महवुव आलम र बारा सिम्रौनगढ नगरपालिका-३ बस्ने २० वर्षीय मोहमद आदिल आलम रहेका छन् । उनीहरुमध्ये महवुव मोरङ बिराटनगर महानगरपालिका-१ शान्ति चोकबाट र मोहमद सप्तरी राजविराज नगरपालिका-५ लंका टोलबाट पक्राउ परेका हुन् ।

नेपाल क्रिकेट संघको आयोजना तथा सेभेन थ्री स्पोर्ट्स प्रालिको रणनीतिक तथा व्यवसायिक साझेदारीमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्रिकेट मैदानमा गत पुस ९ देखि २७ गतेसम्म सञ्चालन भएको नेपाल टी-२० क्रिकेट लिगमा लिगको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने वा हराउने उद्देश्यले खेलमा मिलोमतो तथा अनियमितता गरी राष्ट्रको प्रतिष्ठा, खेलकुदको विकास, विस्तार र प्रवर्द्धनमा आँच पुर्‍याउने किसिमका गतिविधिहरूमा संलग्न रहेको खुल्न आएपछि उनीहरुलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसूर मुद्दाको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महवुवले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको, मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्नको लागि एप्रोच आएकोमा उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

उक्त प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा रहेको वन एक्सबेटले खेलकुदसँग सम्बन्धित समाचारको लागि तथा पूर्वानुमान गर्नको लागि भरपर्दो श्रोत भन्ने दावी गर्ने गरेको र निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्रीहरू बजारमा उपलब्ध हुने दाबी गरेकोमा हालसम्म बजारमा बिक्री वितरणको लागि कुनै पनि सामग्री उपलब्ध नभएको समेत छानविनको क्रममा खुल्न आएको छ । 

उक्त प्रतियोगितामा सहभागी केही फ्र्यान्चाईज टिमहरूको आर्थिक श्रोत, खेलाडीहरूलाई दिने पारिश्रमिकको श्रोत नखुलेको साथै विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरू समेत स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार  फेला परेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

नेपाल क्रिकेट संघ नै आयोजक भई सञ्चालन गर्ने नेपाल टी-२० क्रिकेट लिगले नेपालको प्रतिनिधित्व गर्ने, राष्ट्रिय क्रिकेट तथा राष्ट्रको छवीमा समेत प्रभाव पार्न सक्ने महत्व बोकेको खेलको रणनीतिक तथा व्यवसायिक साझेदार र फ्र्यान्चाईज टिमहरूको आर्थिक श्रोत, विगतमा क्रिकेट खेलसँगको आवद्धता, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बहन गर्ने क्षमता लगायतका विषयमा भेटिङ गर्ने समेतको कार्यमा उचित ध्यान दिन नसकेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । 

 उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०५-१४

सिराहा, सिराहा नगरपालिका-३ मखनाहा बस्ने ४० वर्षीय राकेश कुमार वर्माको हत्या गरेको अभियोगमा धनुषा, धनुषाधाम नगरपालिका-४ लक्ष्मीपुर बस्ने ३२ वर्षीय प्रकाश यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित नेपाल आयल निगम लिमिटेडको फिल्ड अप्रेशन रूममा सोही आयल निगममा कार्यरत प्रकाश र राकेश कुमार बिच एकआपसमा विवाद हुँदा प्रकाशले बेल्चा प्रहार गर्दा राकेश कुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
२०८१-०५-१३

काठमाडौं, नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका-४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन् । खड्गी समेतले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । 

ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०५-१३

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने ४२ वर्षीय सूर्य बहादुर सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सूर्य बहादुरले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नैकापबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०५-१३

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-७ घर भई काठमाडौं माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्की माछापुच्छ्रे गाउँपालिका-६ घर भई काठमाडौं रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा र सिन्धुली कमलामाई नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २५ वर्षीय गणेश बहादुर श्रेष्ठ रहेका छन् । पक्राउमध्ये शशीले १ जना पीडितबाट ३ लाख ६५ हजार रूपैयाँ, रोशनीले १ जना पीडितबाट १ लाख २ हजार रूपैयाँ र गणेशले १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शशीलाई काठमाडौं सितापाइलाबाट, रोशनीलाई काठमाडौं सरकारी धाराबाट र गणेशलाई ललितपुर झम्सीखेलबाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।