बिमा दाबी गर्ने मनासयले आफै गाडीमा आगजनी गर्ने चालक पक्राउ
२०७९-११-०१
- A
- A-
- A+
बर्दिया, बिमा दाबी गर्ने मनासयले आफै लु.२ ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेको अभियोगमा गाडीका चालक मधुबन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मधुबन नगरपालिका-४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकमा गएराति उक्त गाडीमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको थियो । ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उक्त गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको हो ।
माघ २० गते उक्त गाडी बिग्रिएकोले मर्मतको लागि ग्यारेजमा लगेको र मर्मत गर्न बढी रकम लाग्ने हुँदा चौधरीले बिमा दाबी गर्ने मनसायले गाडीलाई आइतबार राति उक्त स्थानमा लगेर डिजल छर्की आगो लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।