प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठगी गरेको घटनमा संलग्न ३ जना पक्राउ

२०७९-११-२९

  • A
  • A-
  • A+
Share

मोरङ, विराटनगर महानगरपालिका-२ स्थित तुलसी (बहुमुखी)  बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम ठगी भएको घटनामा संलग्न उक्त सहकारी संस्थाका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा क्षेत्रिय प्रबन्धक विराटनगर महानगरपालिका-२ बस्ने मन्दिप खवास, संस्थाको उपाध्यक्ष उर्लाबारी नगरपालिका-६ घर भएकी अनिता गौतम र संस्थाको सचिव झापा भद्रपुर नगरपालिका-१४ घर भई हाल विराटनगर महानगरपालिका-३ बस्ने सविना न्यौपाने रहेका छन् । 

२०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय विराटनगर महानगरपालिका-२ मा रहेको र यही फागुन १ गतेदेखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । 

उक्त संस्थाले बाल बचत/ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/ सुपर पेन्सन बचत/ अवधि बचत/ कर्मचारी चल्ती बचत/विशेष बचत/ साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको र आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठुलो रकम बचत गर्दै आएकोमा फागुन १ गतेदेखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएका थिए । सञ्चालकहरु नै फरार भए पश्चात आफूहरु ठगीमा परेको थाहा पाई फागुन २८ गते केही बचत कर्ताहरुले १२ करोड  ९ लाख ४ हजार ४ सय ८७  रूपैया बराबरको रकम ठगी भएको भनि संस्थामा कार्यरत ८ जनाको बिरुद्धमा जाहेरी दिएको र सोही जाहेरीको आधारमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

घटनामा संलग्न अन्य ५ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१२-१६

पाल्पा, ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका-६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका-२ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।  उनीहरूले ती महिललाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधहित पक्राउ
२०७९-१२-१६

कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट  अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मीप्रसाद ढकाल र सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने २३ वर्षीय बिनोद श्रेष्ठ रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट प्रदेश-१-०२-०४७ प ७८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । सिरहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ५३ मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-६ बस्ने २५ वर्षीय जितेन्द्र साह, सोही नगरपालिका-१० बस्ने २५ वर्षीय ललित कुमार राम र सोही नगरपालिका-३ बस्ने २४ वर्षीय देवन यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१-००४ प २५६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । सर्लाही, बलरा नगरपालिका-१ हथियौलबाट अवैध लागूऔषध गाँजा करिब २० केजी बुधबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बलराबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलका चालकले मोटरसाइकल छोडी फरार भएपश्चात प्रहरीले मोटरसाइकल तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१२-१६

उदयपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-४ मरुवा बस्ने २४ वर्षीय महेश परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । महेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । तनहुँ, ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घिरीङ गाउँपालिका-५ धेनु घर भई देवघाट गाउँपालिका-५ सेतिभतेरी बस्ने २७ वर्षीय पुरन परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पुरनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय देवघाट र ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-१६

काठमाडौं, अवैध लागूऔषध कोकिन ७ किलो ८ सय ८७ ग्रामसहित २ जना भारतीय महिलालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत SERCHHIP, MIZOROM ठेगाना भएकी ४५ वर्षीया VAHLALLAWMI र २९ वर्षीया ESTHER LALHLIMPUI रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले ईन्डिगो  एयरलाईन्सको उडानद्वारा भारतको नयाँदिल्ली जान लागेकी VAHLALLAWMI लाई बिमानस्थलको प्रस्थान कक्षको ब्यागेज चेकिङ गर्ने क्रममा २ किलो ८ सय ८७ ग्राम कोकिन फेला पारी पक्राउ गरेको थियो । साथै लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलबाट LALHLIMPUI लाई ५ किलोग्राम कोकिनसहित फेला पारी पक्राउ गरेको हो ।   झापा, मेचीनगर नगरपालिका-५ नकलबन्दा टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम र नगद २८ हजार ६ सय १५ रुपैयाँसहित ललितपुर, ललितपुर महानगरपालिका-१३  घर भई मोरङ लेटाङ नगरपालिका-३ बस्ने ४६ वर्षीय विशाल शर्मालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नकलबन्दा र सशस्त्र प्रहरी बल  नेपाल आउट पोष्ट नकलबन्दाबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । बर्दिया, बारबर्दिया नगरपालिका-३ भैंसाखानीबाट अवैध लागूऔषध चरेश १२ ग्राम ७ सय १० मिलिग्रामसहित मधुवन नगरपालिका-६ गाउँ नम्बर ४ बस्ने २२ वर्षीय मदन गुरुङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २८ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीय रोहित चौधरी र १९ वर्षीय राहुल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-१५

झापा, मेचीनगर नगरपालिका -६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१ बस्ने २४ वर्षीय प्रजन्त राई र बाँके नेपालगञ्ज उपमहानगरपालिका-६ घर भई झापा विर्तामोड नगरपालिका-१ बस्ने २१ वर्षीय शोहन भडेल रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ३८०७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट मौलो पूजा सम्पन्न
२०७९-१२-१५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनु भएको थियो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।