अवैध लागूऔषधसहित ३ जना पक्राउ
२०७९-१२-०५
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वागाउँबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४९ केजीसहित भारतीय नागरिक २७ वर्षीय ओम प्रकाश सिंहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सोही ठाउँस्थित रोकी राखेको बीआर ०७ जीए ९६९१ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा मिनिट्रकमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी चालक सिंहलाई पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध ओनरेक्स १ सय एमएलको १ सय ७८ बोतलसहित सोही महानगरपालिका-१५ भिष्वा बस्ने २० वर्षीय बलजित यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काभ्रे, पाँचखाल नगरपालिका-२ देवीस्थान बस्ने ३० वर्षीय विश्व तामाङलाई अवैध लागूऔषध गाँजा १० केजीसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले लागूऔषध गाँजा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनकै घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाडा छतौनी एरियाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजी शनिबार राति प्रहरीले बरामद गरेको छ । २ वटा घोडामा उक्त गाँजा भारततर्फ लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त घोडा र गाँजा छोडी मानिस फरार भएपश्चात प्रहरीले घोडा र गाँजा बरामद गरेको हो । हाल फरार रहेका मानिसको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।