प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ

२०७९-१२-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको हो ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतिहरूलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई रचनात्मक सहयोग गर्न सबै प्रहरी कर्मचारीलाई उहाँले निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो । 

समारोहमा प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो ।

उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । संगठनको दिशानिर्देश गर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक सिंहबाट बिदाइ सम्बोधनको क्रममा व्यक्त गर्नुभएका शब्द र त्यसका भावनाहरूलाई हृदयङ्गम गरी संगठनलाई मन, वचन र कर्मले नेतृत्व प्रदान गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । सामूहिक नेतृत्वको अवधारणा अनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्नसक्ने संगठनको निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने उहाँले उल्लेख गर्नुभयो ।  

प्रणालीगत र पद्दतीगत विकासले संगठनको सुदृढिकरण सुनिश्चित भई बाह्‍य हस्तक्षेप निरुत्साहित हुने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले संगठनमा विगतमा प्रारम्भ भएका असल अभ्यासको निरन्तरता आफ्नो नेतृत्वकालको प्रस्थान विन्दु रहने बताउनुभयो  । प्रहरी संगठनमार्फत आफ्नो सम्पूर्ण उर्जा तथा सिर्जनशीलता देश र नागरिकका लागि समर्पित गरेर बिदाइ हुन लाग्नु भएका वरिष्ठ अधिकृतहरू प्रति नेपाल प्रहरी र तमाम सदस्यहरू सदैव कृतज्ञ रहने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठनको हितका सवालमा सेवा निवृत्त वरिष्ठ अधिकृतबाट जिवनपर्यन्त अमूल्य सुझाव एवं मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंहलाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती लक्ष्मी कुँवर पराजुलीले सम्मान गर्नुभयो ।  

  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँगै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु सहकुल बहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डे रहनुभएको छ ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत प्रहरी वरिष्ठ अधिकृतहरुलाई शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको थियो ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १२ जना पक्राउ
२०८०-०२-२२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गा चेक प्वाईन्टबाट अवैध लागूऔषध  चरेश जस्तो देखिने पदार्थ ७ सय ८०  ग्राम र गाँजा ७० ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट बेलकोट गाउँपालिका-९ बस्ने ३८ वर्षीय उत्सब सापकोटा र कैलाली धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २० वर्षीय मोहित सोडारी रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले प्र.०३-०१-०२३ च ०७३० नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । पर्सा, जिराभवानी गाउँपालिका-१ वरीया खोलाबाट अवैध लागूऔषध अवैध लागूऔषध गाँजा करिब ७ केजीसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले प्रदेश-०३००५ प ४४२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । भोजपुर, भोजपुर नगरपालिका घर भई हाल टेम्केमैयुङ गाउँपालिका-३ डेरा गरी बस्ने ३८ वर्षीय सन्तोष बराईलीलाई अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ७० मिलिग्रामसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर र ईलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधहित पक्राउ गरेको हो ।  मोरङ, सुन्दरहरैचा नगरपालिका-७ गोठगाँउस्थित आयल मोसा ग्यारेजबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ९ ग्राम ५० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ग्यारेज संचालक सोही नगरपालिका-९ सलकपुर बस्ने २६ वर्षीय महमद ईस्लाम र  सोही नगरपालिका-७ बस्ने २५ वर्षीय महेश ठाकुर रहेका छन् । ग्यारेजमा लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । सर्लाही, लालबन्दी नगरपालिका-१ पलार टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित सर्लाही पर्सा गाउँपालिका-५ बस्ने २० वर्षीय जयराम यादबलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले पीबी ६७-बी २४१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित मेमेङ होटल एण्ड लजको कोठा नम्बर १०१ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ करिब ३६ ग्राम ३ सय ४० मिलिग्राम र नगद २ हजार ५ सय ३० रुपैयाँसहित अर्जुनधारा नगरपालिका-१० चुथाई बस्ने ३० वर्षीय बिक्रम लिम्बुसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सो होटलमा लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  इलाम, सूर्योदय नगरपालिका-८ छिपिटारबट अवैध लागूऔषध खैरो हेरोइन १९ ग्राम ३ सय ३० मिलिग्रामसहित इलाम नगरपालिका-९ गोल बस्ती बस्ने २७ वर्षीय रोशन खवाससहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले प्र-१-०२-०४१ प ३४१७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

राजश्व छलि ल्याउँदै गरेका सामानसहित दुई जना पक्राउ
२०८०-०२-२२

ललितपुर, ललितपुर महानगरपालिका-२६ चिवहालबाट राजश्व छलि ल्याउँदै गरेका करिब २० लाख ७३ हजार ५ सय ९० रूपैयाँ बराबरको विभिन्न अवैध सामानसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१४ डुम्बरवाना बस्ने ३४ वर्षीय दिपक प्रसाद लामिछाने र भारत बिहार राज्य मोतिहारी छतौनी ग्राम पञ्चायत-११ बस्ने २८ वर्षीय सचिन कुमार चौरासिया रहेका छन् । प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१-०२६ च ८९८० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु र कत्था गरी उक्त रुपैयाँ बराबरको सामान, अन्य ब्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास ३ थान र उक्त गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको छ ।

अनलाइनको माध्यबाट यौन दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२२

काठमाडौं, सामाजिक सञ्जालको माध्यबाट यौन दुर्व्यवहार गरेको अभियोगमा जुम्ला तिला गाउँपालिका-९ रासा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेश कुमार राउतलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल टिकटकमार्फत पीडित महिलासँग साथी बनी कुराकानी गर्ने क्रममा सामाजिक संजालका विभिन्न प्लेटफमहरूमा साथी बनाई संवाद गर्ने क्रममा अनलाइन माध्यमद्वारा यौन दुर्व्यवहार गरी स्क्रीन रेकर्डसमेत गरेर पटक-पटक भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा फेक आईडीमार्फत अश्लील क्याप्सन राखी, अश्लील भिडियो तथा तस्विर पोष्ट गरी दुःख हैरानी तथा चरित्रहत्या गरेको खुल्न आएपछि उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा साइबर व्यूरोबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।