प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृहसचिव दिनेश भट्टराईबाट नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन

२०८०-०२-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं,  गृहसचिव दिनेश भट्टराईले मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले गृहसचिव दिनेश भट्टराईलाई हार्दिक स्वागत गर्नुभएको थियो । सो क्रममा गृहसचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो ।

निरीक्षण भ्रमणका क्रममा गृह सचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यहाँबाट हुने काम र गतिविधिबारे जानकारी लिनुभयो ।

निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहसचिव भट्टराईले गृह प्रशासन मातहत कार्यरत सबैले आफू ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिक सेवामा समर्पित भएर आर्थिक सामाजिक रूपान्तरणको अभियानलाई सार्थक बनाई सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कार्यमा एकजुट हुनुपर्ने बताउनुभयो । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र राष्ट्रिय सुरक्षाको कार्यभारलाई आत्मसाथ गर्दै देशमा शान्ति सुव्यवस्थाको समुचित प्रबन्ध मिलाउन नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै गृहसचिव भट्टराईले भन्नुभयो, ‘मन्त्रालय नेतृत्वले अगाडि सारेको दृष्टिकोण, मूल्यमान्यता, निष्ठा र आदर्शलाई नेपाल प्रहरीले गम्भीरतापूर्वक मनन गरी जनताको लोकतान्त्रिक अधिकार उपभोगको अवस्थालाई सुनिश्चित गर्दै नागरिकमैत्री व्यवहार अवलम्बन गरी राष्ट्र र जनतालाई केन्द्रभागमा राखेर तोकिएको जिम्मेवारी व्यावसायिक ढंगले उच्च मनोबलका साथ वहन गर्ने कुरामा म विश्वस्त छु ।’ प्रहरीले नागरिक समक्ष गर्ने कार्यव्यवहारबाट सरकारको छवि उजागर हुने उल्लेख गर्दै उहाँले प्रहरी प्रशासनले गरिब, निमुखा, शोषित पीडित, कमजोर एवं पहुँचबिहिन नागरिकको सारथी बनी उजुरी, गुनासो तथा समस्यालाई सम्बोधन गर्न अग्रसरता एवम् थप क्रियाशिलता हुनुपर्नेमा जोड दिनुभयो । 

गृहसचिव भट्टराईले विभिन्न स्वरूपमा हुने आपराधिक गतिविधि समयमै अनुसन्धान एवं नियन्त्रण गरी प्रहरी संगठनको छवि उच्च राख्न विशेष आग्रह गर्दै  नागरिकको मौलिक एवं लोकतान्त्रिक अधिकारलाई सुरक्षित गरी भरपर्दो र त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो । प्रहरी संगठन आफैमा अनुशासनको पर्याय भएको उल्लेख गर्दै गृहसचिव भट्टराईले भन्नुभयो, ‘कुनै पनि सुरक्षाकर्मीलाई पेशागत आचरण विपरीत काम गर्न छुट छैन । तसर्थ सदाचारलाई मूलमन्त्र मानेर आदेशको श्रृङ्खला अनुरूप कार्य गर्न सकल दर्जालाई म निर्देशन गर्न चाहान्छु ।’ मातहतका प्रहरी कार्यालयहरूले आफ्नो कार्यालयबाट प्रदान गरिने सेवाको गुणस्तर र बितरण प्रक्रियामा आमूल सुधार गरी सेवा प्रवाहलाई थप चुस्त, दुरूस्त र प्रभावकारी बनाउन कार्ययोजनाका साथ काम गर्न जरूरी रहेको उहाँले बताउनुभयो । 

साथै उहाँले सरूवा, बढुवा, पदस्थापना लगायतका वृत्ति विकासका अवसरलाई न्यायोचित र अनुमानयोग्य बनाउने र अनावश्यक दवाव सिर्जना गर्ने जस्ता गैर व्यावसायिक प्रवृत्तिलाई निरूत्साहित गरिने बताउँदै संगठनमा स्थापित आदेशको श्रृङ्खला अनुरूप आगामी दिनमा वृत्ति विकासका अवसरलाई न्यायोचित तवरबाट अगाडि बढाइने बताउनुभयो । महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति थप चनाखो एवं संवेदनशील हुन उहाँले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै सार्वजनिक सम्पत्तिको तोडफोड लगायत अवाञ्छित, अराजक र उच्छृङ्खल गतिविधिलाई निरूत्साहित गर्दै अनुसन्धान र तहकीकातका माध्यमबाट संलग्नलाई कानूनी दायरामा ल्याउन समेत निर्देशन दिनुभयो ।

सो अवसरमा आभार सहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहसचिव ज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समसामयिक र सान्दर्भिक निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई अक्षरस पालना गरी नतिजा दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले संगठन सुदृढिकरणका लागि आन्तरिक शुद्धिकरणलाई प्रस्थानविन्दू बनाउँदै जनमैत्री एवं प्रविधिमैत्री प्रहरी विकास र प्रहरी कार्यसम्पादन गुणस्तर अभिवृद्धि एवं प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै संगठनको समग्र छवि उचो राख्ने लगायतका विषयलाई प्राथमिकतामा राखी संगठनको दुई वर्षीय कार्ययोजना निर्माणको प्रक्रियामा रहेको बताउनुभयो । प्रणालीगत व्यवस्थापन साँगठनिक विकासको आधारशिला भएको चर्चा गर्दै संगठनको प्रत्येक सदस्यले व्यावसायिक क्षमता प्रदर्शन गर्नसक्ने वातावरणको निर्माण गर्दै योग्यता र कार्यसम्पादन लक्षित कार्य पद्दती निर्माण गर्न संगठन पूर्ण दृढ रहेको उहाँले बताउनुभयो ।

अपराध रोकथाम एवं घटित अपराधको प्रभावकारी अनुसन्धान, सामाजिक विकृतिको नियन्त्रण र सेवा प्रवाहमा जनअपेक्षा अनुरूपको कार्य सम्पादनको लागि सुदृढ प्रहरी संयन्त्र आजको आवश्यकता रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले नागरिक सुरक्षाको प्राथमिक दायित्व बोकेको नेपाल प्रहरीलाई सुदृढ कार्य सम्पादनको लागि उपयुक्त रणनीतिसहित प्रविधि एवं साधनयुक्त बनाउन नेपाल सरकार र तालुक मन्त्रालयबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

निर्देशन सम्बोधन कार्यक्रम अघि नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण कार्यक्रममा गृहसचिव दिनेश भट्टराई समक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा, निर्वाचन सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र सुपरिवेक्षण, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी कार्यमा प्रविधिको प्रयोग, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

निर्देशन सम्बोधन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका सहसचिवद्वय केदारनाथ शर्मा र जितेन्द्र बस्नेत, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् भर्चुअल रूपमा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२४

  काठमाडौं, दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका-१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ४५ वर्षीया मुना देवी कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  कार्कीले वैदेशिक रोजगारको लागि दुबई पठाई बाइक राईडरमा मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषधसहित पक्राउ तथा गाँजा बरामद
२०८०-०२-२४

कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २६ मिलिग्रामसहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय रबिन्द्र चन्द, १९ वर्षीय दिवस चन्द र १ जना १८ वर्षीया किशोरी रहेका छन् । उक्त ठाउँमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । पर्सा, पटेर्वा सुगौली गाउँपालिका-१ गदीपानी गाउँबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९ केजी ४ सय २० ग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीलाई देख्नासाथ ३ जना अपरिचित व्यक्तिहरूले झोला र प्लाष्टिकको बोरा छोडी फरार भएपछि प्रहरीले झोला र बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०२-२४

काठमाडौं महानगरपालिका-२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूवीच आपसी विवाद भई झै-झगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो । यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८०-०२-२४

काठमाडौं, अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दोलखा कालिन्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने २२ वर्षीय अरूण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।  पीडितसँग चिनजान गरी ईसेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भन्दै फरक ब्यक्तिको फोटो राखी ईसेवा तथा खल्ती वालेटहरु खोली विभिन्न बहाना बनाई झुक्याई पीडितको बैंक खाता तथा मोबाइल बैंकिङमा पहुँच पुर्‍याई खाताबाट अन्यत्र बैंक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२४

काठमाडौं, कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा मासिक १ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ५ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।