प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८-०७-२२

  • A
  • A-
  • A+
Share

कपिलवस्तु,
    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी महाराजगन्ज नगरपालिका-८ बन्जरिया घर भएका ४३ वर्षीय भोला उपाध्याय भन्ने भोलानाथ उपाध्यायलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
    उक्त मुद्दामा अदालतबाट २० वर्ष कैद फैसला भई विगत ११ वर्षदेखि फरार रहेका भोलानाथ भारतको मुम्बईमा लामोसमय लुकीछिपी बसिरहेकोमा केही समयदेखि कपिलवस्तु नगरपालिका-१ प्रशासन चोकमा डेरा लिई लुकिछिपी बसिरहेका छन् भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    २०६७ असोज ३१ गते साँझ कपिलवस्तु साबिक भलवारी गाबिस-८ सानो भलवारीमा मेला हेर्न गएका साबिक उदयपुर गाबिस-७ बस्ने मुनिम भन्ने सिताराम पासीलाई छेदी यादव, हरिहर कुर्मीले भोलानाथमार्फत् अन्य २ जना व्यक्तिहरूलाई १ लाख रुपैयाँ दिई गोली प्रहार गरी हत्या गराएको घटनामा अदालतले उनीहरूउपर उक्त फैसला गरेको थियो । छेदीलाई २०६८ भदौ ४ गते र हरिहरलाई २०६८ असोज २४ गतेनै प्रहरीले पक्राउ गरेको थियो ।
    भोलानाथलाई जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको तथा अन्य २ जना फरार प्रतिवादीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।


सम्बन्धित समाचार
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-०९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं क्षेत्रपाटी बस्ने मकवानपुर हटौंडा ठेगाना भएका ३८ वर्षीय रगुन खड्केलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ फागुन ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३६ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद ठहर भएका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले  काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो । खड्केले महालक्ष्मी बिकास बैंक लिमिटेड न्यूरोडको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

भरुवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न सामान सहित पक्राउ
२०७८-१०-२२

झापा, मेचीनगर नगरपालिका-२ भृकुटी तितिरी चोकबाट भरूवा बन्दुक बनाउन प्रयोग हुने फलामको पाईप ७ थान, बारूद बनाउन प्रयोग हुने गन्धक जस्तो पदार्थ ३ किलो र बारूद बनाउन प्रयोग हुने सोडा जस्तो पदार्थ ५७ किलो सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-४ आमडाँगी बस्ने २० वर्षीय धनपती भारती र तेह्रथुम आठराई गाउँपालिका-५ बस्ने ६२ वर्षीय तेजमान लिम्बु रहेका छन् । बाहुनडाँगीबाट भृकुटीतर्फ जाँदै गरेको मे.१ ह ६०५६ नम्बरको टेम्पोमा लुकाई ल्याएको उक्त सामानहरु फेला परेको भन्ने खबर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीले ईलाका प्रहरी कार्यालय काँकरभिट्टालाई जानकारी गराएपश्चात उक्त कार्यालयबाट खटिएको प्रहरीले टेम्पो, टेम्पोका चालक धनपती र उक्त सामानको धनी तेजमानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

नक्कली नेपाली रुपैयाँ सहित २ जना पक्राउ
२०७८-०९-०४

सर्लाही, मलंगवा नगरपालिका-८ गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट १ हजार दरको १ सय १५ थान गरी जम्मा १ लाख १५ हजार नक्कली जस्तो देखिने नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम सोनवर्षा-६ चिलरी टोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम लालबन्दी चिलरी-१ बस्ने ४८ वर्षीय प्रमोद कुमार रहेका  छन् ।नेपालबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको बीआर ३० वाई ४१३९ नम्बरको मोटरसाइकललाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरुको शरीर तथा मोटरसाइकल तलासी गर्दा मोटरसाइकलको डिक्की र सिटको बिचको भागबाट उक्त नक्कली जस्तो देखिने रुपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट विभिन्न दरका १ सय ७० नेपाली रुपैयाँ र विभिन्न दरका ४७ हजार ५ सय १० भारतीय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ठगीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ
२०७८-०९-०४

 सप्तरी,  जबरजस्ती करणी मुद्दा लगाई दिन्छु भनी १ लाख नगद ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खडक नगरपालिका-९ सर्पा बस्ने २५ वर्षीया रुबिना खातुन र सोही नगरपालिका लालपट्टी बस्ने ३२ वर्षीय रहमान मियाँ रहेका छन् ।रुबिनाले पीडित महिलालाई मंसिर ३ गते दिउँसो फोन गरी तेरो लोग्‍नेले मलाई जबरजस्ती करणी गरेको छ मुद्दा मिलाउने हो भने मलाई ४ लाख दिनुपर्छ, नदिए भोलि नै जबरजस्ती करणी मुद्दा लगाई जेल पठाईदिन्छु भनी बार्गेनिङ गरी मंसिर १० गते पीडितसँग १ लाख रकम लिई ठगी गरेको घटनामा संलग्न रहेकामध्ये रुबिनालाई पुस १ गते र रहमानलाई मंसिर २१ गते ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

अवैध रुपमा ल्याएको सुन सहित ३ जना पक्राउ
२०७८-०८-२५

काठमाडौं,  नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर यु३६०९७२७ बाहक ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रुपमा ल्याएको ९ सय ५ ग्राम अर्धठोस सुन सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि काठमाडौं मेडिकल कलेज सिनामंगलतर्फ लैजानेक्रममा उनको मलद्वारबाट कालो रङको चिल्लो रबर जस्तो देखिने पदार्थले बेरेको अवस्थामा उक्त सुन फेला पारी उनलाई पक्राउ गरेको हो । साथै प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक आधार कार्ड नम्बर २२५७ ९१४१ १०९५ बाहक ३५ वर्षीय कादर इब्राहिमको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । यसैगरी जजिरा एयरको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर जेड४८४३७३९ बाहक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छलि अवैध रुपमा ल्याएको ३ सय ४९ ग्राम सुन जस्तो देखिने पहेंलो धातु सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा उनले बोकेको व्यागलाई विमानस्थलको आन्तरिक उडानतर्फको होल्ड व्यागेज एरियमा एक्स-रे जाँच गर्दा उक्त धातु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई बरामद धातु सहित आवश्यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।