प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जना पक्राउ

२०७८-०७-२४

  • A
  • A-
  • A+
Share

कैलाली, 

टिकापुर नगरपालिका-१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका-१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका-१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टिकापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका-१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन् ।

अपरिचित ब्यक्तिहरुको धारिलो हतियार प्रहारबाट भुपेन्द्र गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली परिचालन गरी तत्काल घाइतेलाई उपचारको लागि टिकापुर अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोही बिषयलाई लिएर मृतकका आफन्तहरुले चिसापानी बजारस्थित महेश रावलको संगम होटल, भैरव शाही र राज बहादुर शाहीको घरमा ढुंगामुडा गर्दा सामान्य क्षति भएको छ । साथै उनीहरुले लम्कीचुहा नगरपालिका-१ स्थित लम्की चोकमा पूर्व पश्चिम राजमार्ग समेत अवरोध गरेकोले हटाउने पहल भइरहेको छ ।

घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०१-०४

सुनसरी, इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-४ गैरीगाउँबाट बस्ने ३७ वर्षीय उमेश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इटहरी उपमहानगरपालिका-४ गैरीगाउँबाट मलामी आएका उमेश र धरानका ३० वर्षीय अनिल तामाङले चिर्पट प्रहार तथा कुटपिट समेत गर्दा गम्भीर घाइते भएका बिनोदको बेदान्त हस्पिटल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उमेशलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अनिल तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।