प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको अभियोगमा छ जना पक्राउ

२०८०-०५-०६

  • A
  • A-
  • A+
Share

मोरङ, विराटनगर महानगरपालिका-९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-२ घर भई दिपेश मेडिकल हलका संचालक ६८ वर्षीय डा. तपेश्वर लाल कर्ण, विराटनगर महानगरपालिका-९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका-२ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी तथा ३० वर्षीय सूर्य नारायण राजवंशी, सिरहा कल्याणपुर नगरपालिका-१२ बस्ने ३८ वर्षीया निर्मला यादव र भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने २७ वर्षीय गोविन्द राई रहेका छन् । 

ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत असार १४ गते रकम लेनदेन गरी बेपत्ता पारिएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले डा. तपेश्वर लाल कर्ण र गोविन्द राईलाई शुक्रबार तथा अन्य ४ जनालाई मंगलबार पक्राउ गरेको हो । साथै निजहरुको साथबाट नवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरिएको छ । 

उनीहरू उपर म्याद थप अनुमति लिई प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।  



सम्बन्धित समाचार
चोरी गरी लैजाँदै गरेको मोटरसाइकलसहित दुई जना पक्राउ
२०८०-०६-१५

झापा, अर्काको डेराबाट एकाबिहानै चोरी गरी डोर्‍याँदै लैजाँदै गरेको मे.११ प ४३०७ नम्बरको मोटरसाइकलसहित २ जनालाई भद्रपुर नगरपालिका-४ तारानगरबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-२ बस्ने ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षीय मो.जुबेर रहेका छन् ।  उनीहरूले शंकास्पद अवस्थामा उक्त मोटरसाईकल लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल बिर्तामोड नगरपालिका-४ मेघावारी डेरा गरी बस्ने ईलाम देउमाई नगरपालिका-३ घर भएका २० वर्षीय निश्चल राईको डेराबाट चोरी गरी ल्याएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रक्त चन्दन जस्तो देखिने काठसहित आठ जना पक्राउ
२०८०-०६-१४

कपिलवस्तु, बुद्धभूमी नगरपालिका-१ पत्थरकोटबाट रक्त चन्दन जस्तो देखिने काठ करिब ६ सय ५३ केजी १ सय ८८ ग्रामसहित शिवराज नगरपालिका-३ बस्ने २६ वर्षीय टिकाराम पाण्डे र अर्घाखाँची पाणिनी गाउँपालिका-७ पोखेडाँडा बस्ने ३३ वर्षीय गोकुल दर्लामी लगायत ८ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना.५ ख ७३८२ नम्बरको ट्रकमा ६ सय १६ केजी ९ सय ७० ग्राम  र लु.२ च १६३९ नम्बरको पिकअपमा ३६ केजी २ सय १८ ग्राम गरी उक्त परिमाणको काठ लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी ट्रक चालक टिकाराम र पिकअप चालक गोकुल लगायत उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई उक्त गाडी र काठसहित आवश्यक कारबाही तथा अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय तौलिहवा  कपिलवस्तुमा बुझाइएको छ । 

धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०६-१३

धादिङ,नेत्रावती गाउँपालिका-४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय मंगल गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा पुरानो रिसइवी तथा बाख्राले बाली खाएको विषयलाई लिएर खुर्पा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।