अवैध लागूऔषध सहित पक्राउ
२०७८-०८-०३
- A
- A-
- A+
नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-९ प्रतापपुरबाट नियन्त्रित लागूऔषध १ सय एमएलको ओनारेक्स ४ बोतल, २ सय ३२ क्याप्सुल प्रोक्सिमेड-स्पास, १ सय २० ट्याबलेट नाइट्राभेट, ८४ एम्पुल डाइजोपाम, ९५ एम्पुल फेनरागन, र ९३ एम्पुल नोफिन सहित बर्दघाट नगरपालिका-५ बण्डाखोला बस्ने ३५ वर्षीय गणेश सुनारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बलौरी नगरपालिका-१० भुडाबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१० शिवनगर बस्ने १८ वर्षीय किशोर, भिमदत्त नगरपालिका-१ राजिपुर बस्ने २३ वर्षीय सागर कार्की र बेदकोट नगरपालिका-८ गैलनदी बस्ने २३ वर्षीय ज्ञानेस बिष्ट रहेका छन् । सु.प प्र ०२-००३ प ६७६२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी भुडा र सशस्त्र प्रहरी बल बिओपी भुडाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार किशोर र सागरलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध खरिद गर्न बिष्ट समेत आएको खुल्न आएपछि बिष्ट समेतलाई प्रहरीले पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसबाट करिब १ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-१७ बिरौटा बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ग.१ ख ८८८८ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सप्तरी, खडक नगरपालिका-८ मुसहरनियाबाट करिब ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५६ वर्षीय महेश्वर ठाकुरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले ठाकुरको घरमा खानतलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।