हत्या गरी फरार रहेका अभियुक्तहरू पक्राउ
२०७८-०८-१०
- A
- A-
- A+
मोरङ, उर्लाबारी नगरपालिका-८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने २६ वर्षीय संजोग अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । गत साउन ११ गते दिउँसो फुटबल खेल्ने निहुँमा संजोगले धारिलो हतियार प्रहार गर्दा घाइते भएका अभिषकको बिएण्डसि अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी बुढिगंगा गाउँपालिका-७ मा धनकुटा पाख्रीबास नगरपालिका-४ बस्ने २६ वर्षीय रिजन दाहालको हत्या गरी फरार रहेका सुनसरी ईटहरी उपमहानगरपालिका-११ भागलपुर बस्ने २२ वर्षीय राजु तमाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक २८ गते बेलुकी पुरानो रिसिवीका कारण राजुले रिजनलाई खुकुरी प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा रिजनको मृत्यु भएको थियो । तत्काल फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला अदालत मोरङमा पेश गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।