अवैध लागूऔषध सहित पक्राउ
२०७८-०८-१८
- A
- A-
- A+
भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-६ पुरानोठिमी चोकबाट करिब ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका राइटोल बस्ने २९ वर्षीय रोहित देउलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-१३ स्थित सडकबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-१४ बस्ने ६३ वर्षीय सोम बहादुर वाइवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.२ ह ५९२८ नम्बरको अटोलाई प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले जाँच गर्दा अटोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-४ राईसिङबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय सम्बर बहादुर आले मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ एके ६०९९ नम्बरको मोटसाइकललाई प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक मगरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको १ सय ७९ बोतल सिओरेक्स सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा बारागढी गाउँपालिका-४ बस्ने ३३ वर्षीय बसन्त राज चौधरी र २३ वर्षीय मुना चौधरी रहेका छन् । बाराबाट हेटौंडातर्फ जाँदै गरेको बा.५२ प ३९६४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरवाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१६ चालिस किलोस्थित सडकबाट नियन्त्रित लागूऔषध ४ सय ५० एम्पुल फेनारगन, ४ सय ५० एम्पुल डाइजेपाम, ४ सय ५० एम्पुल नुफिन र २ सय ७० ट्याब्लेट नाईट्रोभेट शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.६ प ५०१५ नम्बरको मोटरसाइकलका चालकले मोटरसाइकल छाडी फरार भएपश्चात मोटरसाइकलमाथि झोलामा रहेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।