१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको ५६औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०७८-०८-२८
- A
- A-
- A+
मोरङ, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको ५६औं वार्षिकोत्सव कार्यक्रम १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बिसीले वार्षिकोत्सवको अवसरमा आयोजित आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस र ब्याडमिन्टन खेलका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र र तालिम केन्द्रमा वर्षभरि उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बिसीले प्रहरी सेवा प्रवेश गर्ने जनशक्तिको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको भूमिका अहम रहने बताउनुभयो । उचित प्रशिक्षण प्राप्त गरे मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने उहाँले चर्चा गर्नुभयो ।
तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक खगेन्द्र धमलाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तालिम केन्द्रले स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरु गरी कूल ७८ हजार ४ सय १२ जना प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षण दिइसकेको कार्यक्रममा जानकारी दिइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।