४० जना प्रहरी अधिकृतहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
२०७८-०९-१३
- A
- A-
- A+
काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ४० जना प्रहरी अधिकृतहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित ट्राफिक प्रशासन तालिम २२औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
तालिम समापनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले तालिममा दिलाइएका ट्राफिक प्रहरी सम्बन्धि ज्ञान सीपलाई संगठनको उद्देश्य पूर्तिका लागि राम्रो बोलीबचन,आचरण र व्यवहारका साथ लागू गरी काम गर्न निर्देशन दिनुभयो । समय अनुकूल आधुनिक प्रविधिको विकाससँगै ट्राफिक प्रहरीले पनि प्रविधिको प्रयोग गरी दुर्घटना क्षतिलाई न्यूनिकरण गर्न गतिशील भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगंध श्रेष्ठले गत मंसिर १ गतेदेखि संचालित उक्त तालिममा प्रहरी नायव निरीक्षक ११ जना र प्रहरी सहायक निरीक्षक २९ जना गरी ४० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।