प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हराएका २० वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

२०८०-१२-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, विभिन्न मितिमा हराएका २० वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सोही कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १८ वटा मोटरसाइकल र २ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ, बुङ्गमती लगायतका स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 

चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले आज बुझाइएका २० वटा सहित २ सय ८५ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सोही कार्यक्रममा जानकारी दिनुभयो । चालु आर्थिक वर्षको हालसम्म चोरीका २४ वटा दुईपाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जनालाई पनि कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । 

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


सम्बन्धित समाचार
नेपाल प्रहरी श्रीमती संघद्वारा २८ जनालाई सिलाई कटाई उन्नत तालिम प्रदान
२०८१-०२-०१

काठमाडौं,अमर प्रहरी परिवार, अशक्त प्रहरी परिवार, बहालवाला प्रहरी परिवार र पूर्व प्रहरी परिवारका सदस्यहरूलाई व्यक्तित्व विकास गरी आत्मानिर्भर बनाउन सीपमूलक तालिम दिने उद्देश्यका साथ २८ जना सदस्यहरूलाई सिलाई कटाई उन्नत तालिम प्रदान गरिएको  छ ।नेपाल प्रहरी श्रीमती संघको आयोजना, नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाको समन्वय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय कल्याण शाखा रानीपोखरीको आर्थिक सहयोगमा प्रथम समूह अन्तर्गत ३ महिना अवधिको उक्त सीपमूलक तालिम प्रदान गरिएको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले संघको कार्यालय भृकुटीमण्डपमा मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त तालिम समापन गर्नुभयो । सो अवसरमा संघकी अध्यक्ष कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा सिलाई मेसिन हस्तान्तरण गर्नुभयो ।  सो अवसरमा संघकी अध्यक्ष कुँवरले तालिमबाट हासिल गरेका व्यावसायिक ज्ञान र सीपलाई प्रयोग गरी व्यक्तित्व विकासका साथै स्वरोजगार भई प्रशिक्षार्थीहरू आत्मनिर्भर हुने अपेक्षा लिइएको बताउनुभयो । साथै आगामी दिनहरूमा अन्य सीपमूलक तालिम प्रदायक संघसंस्था तथा निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरी संघले विभिन्न तालिमहरू सञ्चालन गर्ने उहाँले बताउनुभयो । तालिम संयोजक श्रीमती अनिता गुरूङले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारीहरू, नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकाल, प्रशिक्षकहरू तथा प्रहरी कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो ।

‘महिला, शान्ति र सुरक्षा’ विषयक कार्यशाला सञ्चालन
२०८१-०१-३१

काठमाडौं, नेपाल प्रहरीको समन्वय र सहकार्य तथा International Police Peacekeeping Operations Support Programs (IPPOS) र United Nations Institute for Training and Research (UNITAR) को आयोजनामा महिला, शान्ति र सुरक्षा (Women, peace and Security-WPS) विषयक कार्यशाला शुरू भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सोमबार आयोजित एक कार्यक्रमबीच उक्त कार्यशालाको उद्‌घाटन गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले नेपाल प्रहरीले महिला प्रहरी अधिकृतहरूलाई सक्रिय रूपमा भर्ना र तालिम दिएर संयुक्त राष्ट्र संघीय लैंगिक समानता रणनीतिप्रति बलियो प्रतिबद्धता देखाएको चर्चा गर्नुभयो । उहाँले नेपाल प्रहरीले लैंगिक समानता, प्रवर्द्धन र सुरक्षा क्षेत्रमा महिला सशक्तिकरणमा आफ्नो समर्पण देखाउँदै संयुक्त राष्ट्र संघ शान्ति मिसनमा महिलाको सहभागिता समेत बढाएको उल्लेख गर्नुभयो । वर्तमान नीतिहरूको मूल्याङ्कन गर्न र लैंगिक समानता, लैंगिक मूल प्रवाहीकरण र शान्ति प्रक्रियामा महिला सहभागिताको प्रवर्द्धनमा अन्तरहरू पहिचान गर्न कार्यशाला सफल हुने विचार व्यक्त गर्नुभयो । कार्यशालामा हुने छलफल, विश्लेषण र सहकार्यको माध्यमबाट सहभागीहरूले भविष्यमा महिला, शान्ति र सुरक्षाका लागि गरिएका पहल कार्यान्वयन गर्न रणनीति विकास गर्न सहयोग पुग्ने विश्‍वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा IPPOS का प्रोग्राम म्यानेजर Marcus Cornelius र UNITAR का Masa Dikanovic ले कार्यशालाको उद्देश्य र महत्वबारे आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । आगामी जेठ ४ गते समापन हुने उक्त कार्यशालामा नेपाल प्रहरीबाट ७ जना, सशस्त्र प्रहरी बल नेपालबाट २ जनाको साथै अष्ट्रेलिया, बंगालादेश, भुटान, ब्राजिल, बुर्किना फासो, चीन, फिजी, गाम्बिया, जर्मनी, इन्डोनेशिया, नेदरल्याण्ड, नाइजर, रूवान्डा, सेनेगल, सामावो, तान्जेनिया, युएई लगायतका विभिन्न राष्ट्रका प्रहरी अधिकृतहरूको साथै UN Women, UN Light Coordination Mechanism (LCM) का प्रतिनिधि समेत गरी जम्मा ३१ जनाको सहभागिता रहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की
२०८१-०१-३१

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०८१-०१-०९

काठमाडौं, नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्टका तालिमरत ३५ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको आइतबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई  प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो ।अवलोकन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्नुभयो । विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको चर्चा गर्दै उहाँले समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवम् आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताउनुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र नेपाली सेनाका सहायक रथी दिपेश जंग शाहले कृतज्ञताको चिनो आदान प्रदान गर्नुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजनाका समस्या लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरूपण समेत गर्नुभएको थियो । उक्त कार्यक्रममा महासेनानी सूर्य बहादुर थापाले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिमरत अधिकृतहरूमा ३ जना महिला र ३२ जना पुरूषको साथै ६ जना प्रशिक्षक अधिकृतहरूको सहभागिताको रहेको थियो । 

६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८१-०१-०९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५१औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्नुभयो । आर्थिक प्रलोभनमा नपरी अनुशासित एवम् मर्यादित भई तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन १० गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १० जना र प्रहरी जवान ४८ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८१-०१-०९

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्दै अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा छलफल समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै व्यक्ति विशेष भन्दा पनि सेवाग्राही केन्द्रीत प्रहरी सेवा प्रवाह तथा अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा काम गर्न विभाग कटिवद्ध रहेको   बताउनुभयो । प्रहरीबाट प्रवाह हुने अपराधका घटना लगायत जनचासो सम्बन्धी कुनै पनि सूचनाहरू नेपाल प्रहरीको मिडिया नीति, सांगठनिक कार्य नीतिको अधिनमा रहि सम्बन्धित कार्यालयका सूचना अधिकारी वा कार्यालय प्रमुख वा तोकिएको अधिकृतबाट प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । सो कार्यमा देखा परेका समस्याहरूलाई सुधार गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यसम्पादन हुने उहाँले बताउनुभयो । यस्ता कार्यक्रम मार्फत सूचना प्रवाहमा देखा पर्ने समस्या एवम् चुनौतिहरूको पहिचान भई त्यसको निराकरणका लागि अन्तरक्रियाबाट प्राप्त सुझाव एवम् अपेक्षा अत्यन्तै फलदायी हुने र त्यसको कार्यान्वयनमा विभाग कटिवद्ध रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शाखा अधिकृत सारदा चालिसे र प्रेस काउन्सिल नेपालका शाखा अधिकृत महेन्द्र राज सिंह समेतले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्नुभएको थियो । सो क्रममा उहाँहरूले सञ्चार माध्यमहरूबाट सम्प्रेषण हुने कुनै पनि घटनाहरूले अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभाव नपार्ने हिसाबले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुनै पनि पूर्वाग्रह नराखी सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले आपराधिक घटनाको समाचार सम्प्रेषण गर्ने सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो क्रममा उहाँले नेपाल प्रहरीको मिडिया नीति, नेपाल प्रहरीको अपेक्षा/ मातहत कार्यालयहरूबाट संकलित सुझावहरू बारे जानकारी दिनुभएको थियो । अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी विविध एवम् सो सम्बन्धी समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।