प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

संगठनको नीति अनुसारको काम फिल्डमा हुनुपर्छ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर

२०८०-१२-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नयाँ परिवेश बमोजिम प्रहरी संगठनले लिएको नीति अनुसार प्रहरी अधिकृतहरूले फिल्डमा काम गर्नुपर्ने बताउनुभएको छ । 

हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा पेशागत र व्यवसायिक सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।   

प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि संगठनको स्वार्थलाई माथि राखेर नागरिकको विश्‍वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै आ-आफ्नो कार्यक्षेत्रमा नतिजा आउने गरी जिम्मेवारी पूरा गर्न थप सक्रिय हुनुपर्ने बताउनुभयो । नयाँ कार्यक्षेत्रमा खटिएपछि त्यहाँको अवस्था, समस्या एवम् चुनौतिको विश्‍लेषण गरी सोही अनुरूप सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले राजश्‍व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिँदै लागूऔषध नियन्त्रण तथा रोकथाम, गुण्डागर्दी, जघन्य अपराधको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कडाईका साथ कानूनी दायरामा ल्याउन मातहत प्रहरी कर्मचारी तथा कार्यालयहरूलाई समेत क्रियाशील बनाउन सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । 

यस अघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख बिच शिष्टाचार भेटघाट
२०८१-०१-२०

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती बिच बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उहाँहरू बिच आपसी सहयोग, सूचनाको आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको थियो । यसअघि आइजीपी कृष्ण मुर्ती समेत ६ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।सो अवसरमा आइजीपी कृष्ण मुर्तीले इन्डोनेसियन नेशनल प्रहरीको काम, कर्तव्य बारेमा विस्तृत रूपमा जानकारी दिँदै सूचना आदान प्रदान, अन्तरदेशीय अपराध, साइबर अपराध, संयुक्त राष्ट्र संघीय मिसनमा सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताउनुभयो । सो क्रममा इन्डोनेसियन नेशनल प्रहरीका वरिष्ठ उपरीक्षक लियो एण्डी गुनावानले संयुक्त राष्ट्र संघीय मिसनमा इन्डोनेसियन नेशनल प्रहरीको सहभागिताबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । आइजीपी कृष्ण मुर्ती समेतको टोली ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएको थियो । कृष्ण मुर्ती सहितको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

हेड अफ एनसिबी कन्फरेन्समा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता
२०८१-०१-१९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो । साथै सदस्य राष्ट्रहरूबीच Expanding access to I-24/7, Sharing more criminal data, Intercepting criminal proceeds, Protecting children र Enhancing data protection लगायतका एजेन्डामा छलफल तथा सहमति भएको थियो ।National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको Capacity building एवम् पारस्परिक सहयोग आदान प्रदानका विषयहरूमा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय छलफल समेत गर्नुभएको थियो । प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेतको सहभागिता रहेको थियो ।

प्रहरी महानिरीक्षक कुँवर हेड अफ एनसिबी कन्फरेन्समा सहभागी हुन फ्रान्स प्रस्थान
२०८१-०१-१०

काठमाडौं,   National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।    प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ । साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको Capacity building का विषयहरूमा छलफलको लागि मित्रराष्ट्रहरू भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम समेत रहेको छ ।  इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने Head of NCB Conference यस वर्ष सन् २०२४ अप्रिल २३ देखि २५ (तद्अनुसार २०८१ वैशाख ११ देखि १३ गते) सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेत सहभागी हुनु हुनेछ । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वयको विदाइ
२०८१-०१-०६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।  बिदाइ समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक कुँवरले उच्च तहमा पुगी आफूलाई तोकेको जिम्मेवारी उत्कृष्ट हिसाबले पूरा गर्नुभएको कार्य सह्रानीय रहेको बताउनुभयो । आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले तपाईहरूको व्यावसायिक जीवनमा धेरै सकारात्मक कुराहरू रहेकोले आगामी दिनमा संगठनको हितका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विदाइ भई जान लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप ‌भण्डारी र सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले आफ्नो सेवा अवधिमा गरेका विभिन्न क्षणहरू स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई सक्दो रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो ।  विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी वैशाख ५ गते सेवानिवृत्त हुनुभएको छ भने प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी वैशाख ७ गते सेवानिवृत्त हुन लाग्नु भएको हो । दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकासमा जान लाग्नु भएको हो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको   थियो ।   

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट मौलो पूजा सम्पन्न
२०८१-०१-०४

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ ।

१९ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०१-०२

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव उपरीक्षकहरूमा निर्मल पनेरू, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरूषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाय, गुणराज बुढाथोकी, राम प्रसाद तिमल्सिना, भिषणबाबु राई, रूक बहादुर खड्का, रण बहादुर चन्द, राजन लामा र कमल कुमार खड्का रहनुभएको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट सम्पादित हुने कामकारवाही थप रचनात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरिएको बताउनुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर निरन्तर संगठनको प्रतिष्ठालाई उच्च बनाउन जिम्मेवार रहि खरो रूपमा उत्रिन उहाँले निर्देशन दिनुभयो । नेपाल प्रहरीमा प्रचालनमा रहेका कार्यशैली, अभ्यास, पद्धति, विधि, प्रक्रिया र प्रणालीलाई वैज्ञानिक, पारदर्शी, न्यायोचित र विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता महसुस गरी चिन्तनशील भएर गृहकार्य अघि बढाइएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “सांगठनिक सुदृढिकरण र तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले संगठनलाई प्रणाली र पद्धतिमा डोर्‍याउन सबैको रचनात्मक सल्लाह, सुझाव र सहाकार्यको भूमिका रहन्छ ।”  उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक निर्मल पनेरूले आपसी समझदारी,  इमानदारी र जिम्मेवारी बोधका साथ स्वच्छ तथा व्यवसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।