प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

२०८१-०१-०९

  • A
  • A-
  • A+
Share

धनुषा, शहिदनगर नगरपालिका-७ नेमुवाटोल बस्ने ५० वर्षीया रेखा देवी ठाकुरको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा उनकै श्रीमान् ५५ वर्षीय सुदिप ठाकुर र सुदिपकै दाइ ६० वर्षीय उदित ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

गत कात्तिक १० गते सुदिपले रेखालाई रिस आवेगमा बन्चरो प्रहार गरी हत्या गरी आफ्नै घरमा खाल्डो खनी गाडेको र कात्तिक ३० गते राति उदित समेतलाई बोलाई शव निकालेर टुक्रा बनाई स्थानीय कट्टी नदी किनारको झाडीमा फालेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८१-०१-२४

काठमाडौं, काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्याप्टप १ थान,  मोवाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ बस्ने ३७ वर्षीय जोन खड्गी र सोही महानगरपालिका-३० मैतिदेवी बस्ने ३४ वर्षीय संजय खड्गी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं धुमबाराहीबाट पक्राउ गरेको हो । विभिन्न मितिमा काठमाडौं उपत्यका अन्तर्गतका प्रहरी कार्यालयमा ५ पटक चोरी सम्बन्धी लगायतका कसूरमा उनीहरू उपर मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ  ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

विभिन्न हातहतियार र जंगली जनावरको मासुसहित चार जना पक्राउ
२०८१-०१-२४

कपिलवस्तु, विभिन्न हातहतियार र जंगली जनावर मृगको जस्तो देखिने मासु करिब ३० किलोसहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका-१ जितपुर बस्ने ७३ वर्षीय धन बहादुर सेन, सोही नगरपालिका-१ बुङची बस्ने असिम खाण,  सोही नगरपालिका-२ बस्ने ४१ वर्षीय दुर्गा बहादुर शाही र रूपन्देही बुटवल उपमहानगरपालिका-११ मिलनचोक बस्ने ५४ वर्षीय चित्र मल्ल रहेका छन् । असिम खाणको घरको बरान्डामा जंगली जनावरको मासु काटी भाग लगाउँदै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको जनावरको मासुसहित पक्राउ गरेको हो । उक्त स्थानबाट बा.१३ च ८१८४ नम्बरको कार, लु.५१ प ५२६१ नम्बरको मोटरसाइकल  र १६ राउण्ड टोटा समेत प्रहरीले बरामद गरेको छ । साथै थप अनुसन्धानको क्रममा धन बहादुर सेनको घर तलासी गर्दा कोठाभित्र लुकाइछिपाई राखेको बाह्र बोर एकनाले बन्दुक २ थान, बाह्र बोर दुई नाले बन्दुक १ थान, दुबै बन्दुकमा लाग्ने टोटा २० थान,  २२ हर्नेट लेखेको गोली ३ थान, म्याग्नममा लाग्ने गोली थान ३ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०१-२४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने कास्की पोखरा महनानगरपालिका-२ घर भएका  ५६ वर्षीय  पदम बहादुर थापा मगर र काठमाडौं टोखा नगरपालिका-७ धापासी बस्ने सिन्धुपाल्चोक थुमपाखर गाउँपालिका-९ घर भएका ५४ वर्षीय महेश कुमार कार्की रहेका छन् । पक्राउ मध्ये पदम बहादुरलाई उच्च अदालत पाटन ललितपुरको २०७६ वैशाख १० गतेको फैसलाले १ महिना कैद र २० लाख रूपैयाँ जरिवाना तथा महेशलाई सोही अदालतको २०८० जेठ १२ गतेको फैसलाले ५ दिन कैद, बिगो रकम १५ लाख रूपैयाँ जरिवाना र क्षतिपुर्ति बापत पीडित राहत कोषमा ६० हजार रूपैयाँ जम्मा गराउने फैसला ठहर भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पदम बहादुरलाई काठमाडौं कलंकीबाट र महेशलाई ललितपुर पुल्चोकबाट पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०१-२४

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर साविक चित्लाङ गाबिस-३ सिरूपाटा ठेगाना भएका तत्काल नेपाली सेनाको श्री नं. ७ बाहिनीस्थित अड्डा चनवन मकवानपुरमा कार्यरत ४७ वर्षीय शंकर आलेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । शंकर आले समेतका व्यक्तिहरूले मकवानपुर साविक चित्लाङ गाबिस-३ स्थित कच्ची सडकमा मकवानपुर साविक मार्खु गाबिस-४ बस्ने पूर्ण बहादुर बिष्टलाई व्यक्तिगत रिसिइवीका कारण २०६१ कात्तिक २९ गते बेलुकी कुटपिट गरेको र भोलिपल्ट मकवानपुरको मार्खु  र चित्लाङ भन्ने स्थानको दोसाधमा पर्ने काल्सिङ् खोलामा पूर्ण बहादुरको शव फेला परेको थियो । जिल्ला अदालत मकवानपुरको २०७२ वैशाख २३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा शंकरलाई साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम जन्म कैद हुने ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नवलपरासी  देवचुली नगरपालिका-३ प्रगतिनगरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ । 

इजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०१-२४

काठमाडौं, इजरायल पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।