प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.
प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.को जन्म वि.सं. २०३२ साउन २९ गते नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. ७ मा पिता अशोक कुमार के.सी. तथा माता शान्ति के.सी. को जेष्ठ सुपुत्रका रूपमा भएको हो । उहाँको पारिवारिक तथा व्यावसायिक जीवनमा धर्मपत्नी तथा एक छोराको निरन्तर साथ, सहयोग र प्रेरणा रहँदै आइरहेको छ ।
शैक्षिक क्षेत्रमा विशेष रुचि राख्नुहुने डा. के.सी.ले विज्ञान विषयमा स्नातक तहको अध्ययन पूरा गर्नुभएको छ । उहाँले समाजशास्त्र, सार्वजनिक प्रशासन तथा द्वन्द्व रूपान्तरण विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ भने वि.सं. २०७७ सालमा पन्नाशास्त्र विश्वविद्यालय (Pannasastra University) कम्बोडियाबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि (Ph.D.) उपाधि हासिल गर्नुभएको छ ।
वि.सं. २०५४ सालमा प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएका डा. के.सी. ले सेवा प्रवेश पश्चात् प्रहरी निरीक्षक आधारभूत तालिम पूरा गरी आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गर्नुभएको हो । करिब २८ वर्ष लामो प्रहरी सेवाका क्रममा उहाँले अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), प्रदेश समन्वय विभाग, विशेष ब्यूरो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ तथा रुपन्देही र प्रहरी वृत्त बौद्ध लगायत विभिन्न कार्यालयमा नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्नुभएको छ । यसका साथै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निर्देशक, अनुसन्धान योजना तथा विकास निर्देशनालयमा उपनिर्देशकका रूपमा समेत कार्य गर्नुभएको छ । विभिन्न कार्यक्षेत्रमा रहेर उहाँले अपराध अनुसन्धान, संगठन व्यवस्थापन, प्रहरी परिचालन तथा संस्थागत विकासमा महत्वपूर्ण अनुभव हासिल गर्नुभएको छ ।
राष्ट्रिय जिम्मेवारीका अतिरिक्त डा. के.सी. ले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा समेत नेपालको प्रतिनिधित्व गर्नुभएको छ । वि.सं. २०६० सालमा कोसोभो स्थित संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMIK) तथा वि.सं. २०६५ सालमा हाइटी स्थित संयुक्त राष्ट्रसङ्घीय मिसन (MINUSTAH) मा सेवा गरी अन्तर्राष्ट्रिय अनुभव हासिल गर्नुभएको छ ।
आफ्नो सेवाकालमा उहाँले हवाई सुरक्षा, अपराध अनुसन्धान, अनुसन्धानात्मक अन्तर्वार्ता, Operational Command, प्रशिक्षक प्रशिक्षण, Strategic Command and Management, अन्तर्राष्ट्रिय आतङ्कवाद, द्वन्द्व समाधान, शान्ति स्थापना र मानव अधिकार लगायतका विषयमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम गर्नुभएको छ । अध्ययन, अनुसन्धान र व्यावसायिक दक्षताको निरन्तर विकासमा रुचि राख्नुहुने उहाँले प्राप्त ज्ञान र अनुभवलाई प्रहरी संगठनको कार्यसम्पादन तथा क्षमता अभिवृद्धिमा उपयोग गर्दै आउनुभएको छ ।
प्रहरी सेवामा पुर्याउनुभएको योगदानको कदरस्वरूप उहाँ वीरेन्द्र-ऐश्वर्य सेवा पदक, गोरखा दक्षिण बाहु चौथो, प्रबल जनसेवाश्री तथा संयुक्त राष्ट्रसङ्घीय पदकलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक र विभूषणबाट सम्मानित हुनुभएको छ । यसका अतिरिक्त सेवाकालका विभिन्न चरणमा उत्कृष्ट अनुसन्धान अधिकृत तथा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखका रूपमा सम्मानित हुनुका साथै प्रशंसापत्र, सम्मानपत्र र नगद पुरस्कारहरूबाट सम्मानित हुनुभएको छ ।
पेशागत जिम्मेवारीसँगै अध्ययन, अनुसन्धान तथा लेखनमा समेत विशेष अभिरुचि राख्नुहुने डा. के.सी.का “Enhancing Policing in Nepal: A Human Security Informed Approach, Concepts, and Implications” (वि.सं. २०८०) तथा “Identifying Effective Measures to Combat Organized Crime in Post-Conflict Kathmandu” (वि.सं. २०६९) नामक अनुसन्धानमूलक कृतिहरू प्रकाशित छन् । उहाँका यी कृतिहरूले प्रहरी कार्यसम्पादन, मानव सुरक्षा तथा संगठित अपराध नियन्त्रणका विषयमा उहाँको अध्ययन र अनुसन्धानप्रतिको रुचिलाई प्रतिबिम्बित गर्दछन् । उहाँ विभिन्न विश्वविद्यालयहरूमा अतिथि प्राध्यापक (Visiting Lecturer) हुनुहुन्छ भने अनुसन्धान अन्वेषक (Research Fellow) का रूपमा दर्जनौँ खोज तथा अनुसन्धानहरूको नेतृत्वसमेत गर्नुभएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक एवं राष्ट्रिय केन्द्रिय ब्यूरो काठमाडौंको (NCB) प्रमुखको रूपमा जिम्मेवारी सम्हालिरहनु भएको छ । डा. के.सी. ले आफ्नो लामो सेवा अनुभव, शैक्षिक योग्यता, अनुसन्धान क्षमता तथा नेतृत्व दक्षतालाई संगठनको हित र विकासमा समर्पित गर्दै आउनुभएको छ । बदलिँदो सुरक्षा परिवेश र प्रविधिको विकाससँगै थप जटिल बन्दै गएका प्रहरी चुनौतीहरूको सामना गर्न उच्च व्यावसायिकता, तटस्थ, सत्य, निष्ठा र जवाफदेहितालाई आत्मसात् गर्दै नेपाल प्रहरीलाई आधुनिक, सक्षम, जनमुखी तथा विश्वसनीय संगठनका रूपमा विकास गर्ने दिशामा उहाँको अनुभव र नेतृत्व महत्वपूर्ण रहनेछ ।