प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
सूचना प्रविधि निर्देशनालय - परिचय

परिचय


सूचना प्रविधिको आजको युगमा नेपाल प्रहरीलाई पनि सूचना प्रबिधिको क्षेत्रमा अझ बढी सशक्त र समयानुकुल बनाई सूचना प्रबिधिमा भएका बिकासक्रम संगै आवश्यकतानुसार नेपाल प्रहरी लाई सोही अनुरुप परिमार्जित गर्दै सो को उच्चत्‌म प्रयोग गर्ने अभिप्रायले नेपाल प्रहरीमा गठन भएको सूचना प्रविधि निर्देशनालयबाट स्थापनाकाल देखि नै नेपाल प्रहरी संगठनको लक्ष्य प्राप्तिको लागि सूचना प्रबिधिको क्षेत्रमा आवश्यकतानुसारको योगदान पुर्‍याउदै आईरहेको छ । नेपाल प्रहरीको लागि आवश्यक कम्प्यूटर तथा सो संग सम्बन्धी उपकरणहरु खरिद गर्ने सम्बन्धमा आवश्यक राय सुझाव प्रदान गर्ने, खरिद भई आएका उपकरणहरुको चेक जांच गरि सो को सुरक्षित भण्डारण गर्ने, प्राथमिकताको आधारमा माग भई आए अनुसार विभिन्न प्रहरी कार्यालयहरुमा कम्प्यूटर र अन्य उपकरणहरु वितरण गरि सो को नियमित अनुगमन गर्ने कार्य यस निर्देशनालयले गर्दै आईरहेको छ । यसका अलावा विभिन्न प्रहरी कार्यालयहरुबाट माग भए अनुसार सो कार्यालयहरुका लागि आवश्यक Software तयार गर्ने र नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कम्प्यूटर सम्बन्धी विभिन्न तालिमहरु संचालन गरी कम्प्यूटर सम्बन्धी आवश्यक ज्ञान र शीप प्रदान गर्ने कार्य समेत यस निर्देशनालयबाट गरिदै आएको छ ।


प्रहरी प्रधान कार्यालय, सूचना प्रविधि निर्देशनालयको काम कर्तब्य


  • विश्वमा तीब्र रुपले विकास भैरहेको कम्प्यूटर प्रबिधिको अध्ययन गरी नेपाल प्रहरीलाई आवश्यक आर्थिक तथा प्राबिधिक रुपमा उपयुक्त प्रणाली अबलम्बन गर्न सुझाव पेश गर्ने साथै कम्प्यूटर तथा इलेक्ट्रोनिक्स क्षेत्रमा आवश्यक प्राबिधिक सल्लाह प्रदान गर्ने ।
  • नेपाल प्रहरीको आवश्यकता बमोजिम बिभाग, सचिवालय, निर्देशनालय, महाशाखा, शाखा एंव नेपाल प्रहरीका अन्य इकाईहरुमा प्राबिधिक सर्वेक्षण गरी त्यहांको आवश्यकता पहिचान गरी प्राथमिकताको आधारमा कम्प्यूटर सुबिधा क्रमशः उपलब्ध गराउदै लैजाने साथै ती इकाईहरुको माग र कामको प्रकृति अनुसार उपयूक्त कम्प्यूटर सफ्टवेयर विकास गरी जडान गरी दिने ।
  • यस निर्देशनालयको कामको सम्बन्धमा बार्षिक कार्यक्रम तर्जुमा गर्ने र स्वीकृत कार्यक्रम अनुसार कार्य संचालन गर्ने, गराउने ।
  • मातहतका महाशाखा, शाखा, उपशाखाहरुको कार्यपद्धतिबारे गहीरो जानकारी राख्ने तथा प्राबिधिक कठिनाई वा समस्या उत्पन्न भएको अबस्थामा आवश्यक सल्लाह एंव सुझाव प्रदान गरी उक्त समस्या समाधान गर्ने ।
  • कम्प्यूटर सम्बन्धी आवश्यक उपकरणहरु खरीद गरी सोको भण्डारको ब्यवस्था मिलाउने ।
  • नेपाल प्रहरीको बिभिन्न निकायहरुमा छरिएर रहेका कम्प्यूटरहरुलाई एकबद्ध गरी एकिकृत कम्प्यूटर प्रणालीमा बिकास गर्दै लैजाने ।
  • मातहतका प्रहरी कर्मचारीहरुको कार्य प्रगतीको मूल्यांकन, निरीक्षण र सुपरीवेक्षण गर्ने ।
  • नेपाल प्रहरीको बिभिन्न इकाईहरुमा कार्यरत कम्प्यूटर प्राबिधिक प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा मुल्यांकन तथा सुपरीवेक्षण गर्ने ।
  • कम्प्यूटर बितरित प्रहरी इकाईहरुमा कार्यरत प्राबिधिक कर्मचारीहरु लगायत नेपाल प्रहरीका प्रहरी कर्मचारीहरुलाई आवश्यकता अनुसार कम्प्यूटर बिषयमा सीप तथा ज्ञान प्रदान गराउन साथै दक्ष जनशक्ति उत्पादन गर्न बार्षिक तालीम क्यालेण्डर तयार गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वाधानमा कम्प्यूटर निर्देशनालयमा तालीम संचालन गर्ने ।
  • नेपाल प्रहरीको आवश्यकता अनुरुप कम्प्यूटर तथा यसका सहायक उपकरणहरु र इलेक्ट्रोनिक्स उपकरणहरु खरीद गर्नुपर्दा उपयुक्त किसिमको Specification तयार गरी खरीद गर्नको लागी सम्बन्धित निकायसंग समन्वय कायम गरी आवश्यक कार्य गर्ने ।
  • कम्प्यूटर प्रबिधिमा द्रुत गतिमा भइरहेको बिकास एवं परिर्वतनले गर्दा कम्प्यूटर निर्देशनालयमा कार्यरत प्रहरी अधिकृतहरुलाई समय सापेक्ष उन्नत तालीम, सेमिनार, उच्च शिक्षा, गोष्ठी आदिको ब्यबस्था मिलाई दिन मजकुर प्रमनिको कार्यालय मार्फत सम्बन्धित निकायमा अनुरोध गरी पत्राचार गर्ने ।
  • नेपाल प्रहरीको बिभिन्न इकाईहरुमा बितरण गरीएको कम्प्यूटर र यसका सहायक उपकरणहरुको आवश्यक रेखदेख, नियन्त्रण, अनुगमन, तथा मर्मत आदिको मासिक प्रतिबेदन प्रमनिको कार्यालयमा पेश गर्ने तथा मर्मत कार्यको लागी आवश्यक पर्ने बजेटको ब्यबस्था प्रमनिको कार्यालय मार्फत गर्ने ।
  • प्रहरी संगठनका बिभिन्न कार्यालयहरु तथा अन्य सम्बन्धित निकायहरु संग सूचना आदान प्रदान गर्न उपयूक्त ब्यबस्थापकीय सूचना प्रणाली (Management Information System) बिकास गर्ने तथा तथ्यांक, सूचनाको सुरक्षा गर्ने र गोपनियता कायम गर्ने ।
  • मातहतका प्रहरी कर्मचारीहरुको कार्य प्रगतीको मुल्याङ्कन गर्ने, निरीक्षण गर्ने, सुपरीवेक्षण गर्ने साथै कर्मचारीहरुको वृत्ति बिकासको अबसर प्रदान गर्न आवश्यक ब्यबस्था मिलाउने ।