प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मानवश्रोत विकास विभाग - परिचय


क. पृष्ठभूमी:


मानवश्रोत हरेक संगठनको पहिलो र आधारभूत श्रोत हो । प्रहरी कर्मचारी र संगठनको बृहत्तर हितलाई केन्द्रमा राखी नेपाल प्रहरीको निर्दिष्ट सांगठनिक उद्देश्य हासिल गर्न उपयुक्त मानवश्रोतको प्राप्ति, विकास, उपयोग, सम्भार र सेवानिवृतिका लागि आवश्यक योजना, संगठन, निर्देशन र नियन्त्रण तथा अन्य कार्यहरु मानवश्रोत विकास विभागले गर्ने गर्दछ । प्रहरी संगठनको प्रारम्भिक चरणको रुपमा मिति २०४२ साल भाद्र १५ गते प्रशासन विभागको स्थापना भई आफ्नो जिम्मेवारी क्षेत्र भित्र कार्यसम्पादन गर्दै आएको थियो । प्रहरी कर्मचारीहरुको भर्ना पूर्वदेखि  अवकाश पश्‍चात सम्मका (Pre-recruitment to Post-retirement) सम्पूर्ण कार्य सम्पादनको लागी मन्त्रिपरिषद्को मिति २०६१ वैशाख १७ गतेको निर्णय अनुसार मानवश्रोत विकास विभागको स्थापना भएको हो । नेपाल प्रहरीको पुर्नसंरचना (मिति २०७५/०२/२७ गतेको नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयानुसार) अनुरुप साविक प्रशासन विभाग समेत यसै विभाग अन्तर्गत समावेश गरी मानवश्रोत एवं प्रशासन विभागको रुपमा रुपान्तरण गरिएकोमा नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८।११।०५ गतेको निर्णयअनुसार मानवश्रोत एवं प्रशासन विभागलाई प्रशासन विभाग र मानवश्रोत विकास विभागमा विभाजन गरीए पश्‍चात् मानवश्रोत विकास विभागको आफ्नो जिम्मेवारी क्षेत्रभित्रका कार्यहरु सम्पादन गर्दै आएको छ । यस विभागले लोकसेवा आयोगसँग सहकार्य गरी जनशक्ति छनौट प्रकृया संचालन गर्दछ । नयाँ भर्ना भई सेवा प्रवेश गरेका प्रहरी कर्मचारीलाई आधारभूत तालिम प्रदान गरी कार्यक्षेत्रमा नयाँ पदस्थापना गर्दछ । कार्यरत जनशक्तिलाई उन्नत तालिम प्रदान गर्ने र सम्पूर्ण प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा तथा वृत्ति विकासको अवसर देखि अवकाश सम्मको कार्य समेत यसै विभागले सम्पन्न गर्ने गर्दछ । 


ख. लक्ष्य:
  • नेपाल प्रहरीलाई दिईएको जिम्मेवारी तथा उत्तरदायित्व बहन गर्न सक्षम जनशक्ति छनौट, तालिम प्रदान एवं वृत्ति विकासको सम्पूर्ण कार्य गर्दै भर्ना पूर्वदेखि अवकाश र निवृत्तिभरण सम्मको कार्य गर्ने ।


ग. उद्देश्यहरु:

  • विभिन्न कारणले रिक्त हुन आएका दरबन्दी पदपूर्ति गर्ने क्रममा नयाँ भर्ना छनौट योजना तय गर्ने ।
  • वार्षिक तालिम क्यालेण्डर निर्माण गरी सम्पूर्ण प्रहरी कर्मचारीहरुका लागि आधारभूत तथा उन्नत तालिम सञ्चालन गर्ने ।
  • प्रहरी कर्मचारीको नियमित सरुवा, बढुवा कार्यलाई सहज एवं पारदर्शी ढंगबाट सम्पन्न गर्ने ।
  • स्वदेश र विदेश तालिमको पहिचान, छनौट, प्राप्ति समेत गरी उपयुक्त प्रहरी कर्मचारीलाई सो को अवसर प्रदान गर्ने ।
  • नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको वृत्ति विकासका लागि उच्चतम रणनीतिहरु विकास गरी सो को कार्यान्वयन गर्ने ।


घ. मानवश्रोत विकास विभागको संगठनात्मक संरचना

                             


Card image cap
टेक प्रसाद राई

प्रहरी अतिरिक्त महानिरीक्षक