प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
अन्वेषण योजना तथा विकास निर्देशनालय - परिचय


नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालय नेपाल प्रहरी सेवाको सुदृढीकरण गर्ने उद्देश्यका साथ वि.सं. २०४४ सालमा प्रहरी नायव उपरीक्षकको नेतृत्त्वमा अन्वेषण तथा योजना शाखाको रूपमा स्थापना भएको थियो । वि.सं. २०६६ सालदेखि यस निर्देशनालय प्रहरी नायव महानिरीक्षकको नेतृत्त्वमा रहेको छ । यस निर्देशनालयले नेपाल प्रहरीको काम कारबाही र सार्वजनिक सुरक्षा अभ्यासहरूलाई समयानुकूल प्रभावकारी बनाउन अनुसन्धानमा आधारित योजना तथा नीति निर्माणको कार्य गर्दै आएको छ । साथै यस निर्देशनालयले कार्ययोजना निर्माण र कार्यान्वयन एवं अनुगमन तथा मूल्याङ्कन कार्य समेत गर्दै आइरहेको छ । यस निर्देशनालयले प्रहरी महानिरीक्षकलाई नीतिगत कार्यमा आवश्यक सुझाव समेत दिँदै आएको छ ।

प्रहरी महानिरीक्षकबाट मातहतका विभाग र कार्यालय प्रमुखहरूसँग गरेको वार्षिक कार्यसम्पादन सम्झौताको कार्यान्वयन, अनुगमन र मूल्याङ्कन लगायतका कार्यमा सहजीकरण गर्ने भूमिका समेत यस निर्देशनालयले निभाउँदै आइरहेको छ ।  साथै संगठनका विभिन्न विषयहरुमा खोज तथा अनुसन्धान गरी नीतिगत सुधारको लागि आवश्यक सुझाव समेत दिँदै आइरहेको छ । यस निर्देशनालयले नेपाल प्रहरीका लागि वैदेशिक सहायता कार्यक्रमहरूको लागि एकद्वार प्रणाली अन्तर्गत समन्वयात्मक भूमिका निर्वाह गर्दै आइरहेको छ ।


निर्देशनालयको जिम्मेवारी क्षेत्रहरू निम्नानुसार छन्:

  • प्रहरी सेवा प्रवाह, मानवस्रोत विकास, प्रहरी कारबाही, प्रशासन र अपराध अनुसन्धानका विषयमा खोज तथा अन्वेषण गर्ने एवं आवश्यक सुधार योजना तयार गर्ने ।
  • नेपाल प्रहरीको वर्तमान, अल्पकालीन र दीर्घकालीन प्रकृतिका योजना तथा कार्ययोजनाहरू तयार गरी लागु गर्ने ।
  • नेपाल प्रहरीले अख्तियार गरेका नीति तथा योजनाको कार्यान्वयनको अवस्थाबारे अनुगमन तथा मूल्याङ्कन गरी प्रतिवेदन गर्ने ।
  • विभिन्न विषयहरुमा समय सान्दर्भिक विश्‍लेषणको लागि विशेषज्ञहरुसँग परामर्श गर्ने ।
  • नेपाल प्रहरीका विभिन्न इकाईहरूद्वारा कार्यान्वयन गरिएका विभिन्न कार्यक्रम तथा परियोजनाहरूको अध्ययन तथा विश्‍लेषण गरी विस्तृत प्रतिवेदन पेश गर्ने ।
  • आवश्यकता अनुरूप विभिन्न महत्त्वपूर्ण विषयहरुमा छलफल तथा गोष्ठीहरु आयोजना गर्ने र परियोजनापत्र, सेमिनारपत्र तथा अवधारणापत्रको मस्यौदा तयार गरी नेपाल प्रहरी प्रधान कार्यालय, नीति निर्माण समितिमा निर्णयार्थ पेश गर्ने ।
  • नेपाल प्रहरीद्वारा गरिएका सम्पूर्ण खोज तथा अनुसन्धानात्मक कार्यहरुको अभिलेख व्यवस्थापन गर्ने ।
  • नेपाल प्रहरीको सुदृढीकरणका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग समन्वय र सहकार्य गरी वैदेशिक सहयोगमा सञ्चालित आयोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।